आज ए डिभिजन लिगमा तिन खेल हुँदै

फाईल तस्बिर

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज विहीबार तीन खेल हुँदैछ । लिगको १९ औं चरण सुरु हुँदा शीर्षस्थानमा अंकको अन्तर फराक हुँदै गर्दा रेलिगेसन क्षेत्रमा भने कडा प्रतिस्पर्धा चलिरहेको छ ।

दिउँसो ३ बजे च्यासल रंगशालामा संकटा क्लब र मनाङ मर्स्याङ्दी क्लब खेल्दैछन् । विष्णु गुरुङ प्रशिक्षकको भूमिकामा आएयता मनाङले सबै ४ खेलमा बराबरी गरेको छ । तर टोलीको प्रदर्शनमा भने क्रमशस् सुधार देखिएको छ । यता संकटाले पछिल्लो ५ मध्य १ खेल मात्र जित्दा रेलिगेसनकै खतरा पनि रहेको छ ।

आजको खेल जितेको खण्डमा मनाङ अंक तालिकाको सातौं स्थानमा उक्लनेछ । यता रेलिगेसन क्षेत्रबाट मात्र १ अंक टाढा रहेको संकटा यस खेलमा पराजित भए अन्य खेलको नतिजाले तल झार्न पनि सक्छ । जितले भने संकटा सातौं स्थानमा पुग्नेछ ।

सोहि समयमा दशरथ रंगशालामा फ्रेन्ड्स क्लब र मच्छिन्द्र क्लब खेल्नेछन् । पछिल्लो ५ मध्य ४ खेलमा विजयी मच्छिद्र उपाधि दावेदारी बलियो पार्न जित हासिल गर्न चाहन्छ । जितले टोलीलाई दोस्रो स्थानमा पुर्याउनेछ । तर रेलिगेसन क्षेत्रमा रहेको फ्रेन्ड्स पनि जितसहित सुरक्षित स्थानमा उक्लन चाहन्छ । फ्रेन्ड्सले पछिल्लो ५ मा मात्र १ खेल जितेको छ ।

साँझ ६ बजे न्यु रोड टिम (एनआरटि) र जावलाखेल युवा क्लबबीच खेल हुनेछ । जावलाखेल जितसहित शीर्षस्थानमा उक्लने प्रयासमा हुनेछ । यता एनआरटि रेलिगेसन क्षेत्रबाट दुरी बढाउने लक्ष्यसाथ उत्रनेछ ।