भुटानी शरणार्थी प्रकरणमा मुछिएका हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ परेका छन्। भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा ठग्ने गिरोहसँग मियाँको संलग्नता देखिएपछि मियाँ सिंहदरबार भित्रैबाट पक्राउ परेका हुन् ।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गर्ने गिरोहले मियाँ चढ्ने गाडी प्रयोग गरेको खुलेपछि प्रहरीले उनको खोजी सुरु गरेको थियो ।

गृह मन्त्रालयअन्तर्गत नेपाल हज समितिका अध्यक्ष मियाँलाई तत्कालीन गृहमन्त्रीराम बहादुर थापा (बादल) ले २०७७ माघ ७ मा नियुक्त गरेका थिए । थापा हटेपछि गृहमन्त्री बनेका खाणले मियाँको कार्यकाल २ वर्ष थपिदिएका थिए ।

स्रोतका अनुसार नक्कली शरणार्थी बन्ने मानिसको खोजी गर्ने, त्यसका लागि हज समितिको गाडी प्रयोग गर्ने र गिरोहको योजनाअनुसार थप काम गर्ने जिम्मा मियाँले लिएका थिए । त्यसको पोल खुलेपछि उनी सम्पर्कविहीन थिए । बिहीबार कार्यवाहक जिम्मेवारी अर्कै व्यक्तिलाई दिने गरी तयारी गरिरहेका बेलामा उनी पक्राउ परेका हुन् । उनलाई काठमाडौं प्रहरी परिसर लगिएको छ ।