आइपिएल : एकै खेलमा दुवै टोलीका खेलाडीको शतक

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) इतिहासमा पहिलो पटक एकै खेलमा दुवै टोलीबाट शतक बनेको छ । बिहीबार राती रोयल च्यालेन्जर्स बेंगलोरका विराट कोहली र सनराइजर्स हैदराबादका हेनरिक क्लासेनले शतक हानेका थिए।

आइपिएलमा पहिलो पटक दुबै इनिङमा पहिलो पटक शतक प्रहार भएको हो । यसअघि एकै टोलीबाट दुई पटक शतक प्रहार भएको थियो । तर एकै खेलमा दुबै टोलीको शतक भने थिएन । जितको लागि १ सय ८७ रनको विजयी लक्ष्य १९।२ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्न विराट कोहलीले शतक हानेका थिए ।

कोहलीले ६३ बलमा १२ चौका र ४ छक्कासहित १ सय रनको शतकीय इनिङ खेलेका थिए । कोहलीको यो आइपिएल करिअरको छैटौं शतक थियो । उनले क्रिस गेलसँग सर्वाधिक शतकको कीर्तिमान बराबर गरेका छन् ।

त्यसअघि घरेलु मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हैदराबादले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ८६ रन बनाएको थियो । हैदराबादका हेनरिक क्लासेनले ५१ बलमा ८ चौका र ६ छक्कासहित १ सय ४ रनको शतकीय इनिङ खेलेपनि टोलीको हार टार्न सकेनन् । उनको यो आइपिएल करिअरको पहिलो शतक थियो ।

यसअघि सन् २०१६ मा बेंगलोरका एवि डिभिलियर्सले १ सय २९ र विराट कोहलीले १ सय ९ रनको शतकीय इनिङ गुजरात लायन्सविरुद्ध खेलेका थिए । २०१९ मा हैदराबादबाट बेंगलोरविरुद्ध जोनी बेयरस्टाले १ सय १४ र डेविड वार्नरले १ सय रनको शतकीय इनिङ खेलेका थिए ।