तालनै व्यक्तिको नाममा दर्ता गरी कित्ताकाट

रौतहट । भूमाफियाको रुप कस्तोसम्म हुन्छ भन्ने कुराको पुष्टि रौतहटको चन्द्रपुर नगरपालिका वडा न ८ मा रहेको सिमसार क्षेत्र व्यक्तिको नाममा दर्ता हुनुले प्रष्ट पार्दछ । झन्डै दुई सय वर्ष पुरानो सिमसार क्षेत्रको जग्गा व्यक्तिको नाममा रहेको मालपोत कार्यालय रौतहटले स्वीकार गरेको छ । अहिले सिमसार नै अतिक्रमणको चपेटामा परेको छ ।

झन्डै एक सय बिघा जग्गा रहेको सिमसार क्षेत्रको पूर्वमा बस्ती बसिसकेको छ । अहिले सो क्षेत्रकोे तालमा रहेको पानीको सतहबाहेक क्षेत्रहरु पूर्ण रुपमा अतिक्रमण भइसकेको छ ।

सो सिमसार क्षेत्रमा रहेको मर्धर ताल समेत व्यक्तिका नाममा पास भइसकेको छ । यसरी सार्वजनिक ताल र सिमसार क्षेत्र व्यक्तिको नाममा पास हुँदा पनि आजसम्म राज्यको नाममा फिर्ता नहुनुलाई गम्भिर रुपमा हेरिएको छ ।

स्थानियका अनुसार कुनै समय २६ विगाहा क्षेत्रफलमा रहेको मर्धर ताल अतिक्रमणको सिकार हुँदै साँघुरिदै १० विगाहामा सिमित भएको छ । हाल बाँकी रहेको तालको पनि २० जनाको नाममा लालपूर्जा रहेको छ ।
मालपोत कार्यालय चन्द्रनिगापुरको तथ्याङ्क अनुसार हाल ताल रहेको क्षेत्रको कित्ता नम्बर १५१ देखि १७० नम्बर कित्ताको झण्डै १० विगाहाको लालपूर्जा व्यक्तिको नाममा छ ।

पानीले भरिभराउ ताल व्यक्तिको नाममा मात्र नभएर पटक–पटक किनबेच पनि हुने गरेको पाइएको छ ।

पञ्चायतकालका तत्कालीन वनमन्त्री हेमबहादुर मल्लले मकवानपुरको धियाल वस्ती विस्थापित गरेर त्यहाँका स्थानियलाई मर्धरमा राखेका थिए । मल्लको पालामा गठित वन क्षेत्र सुदृढीकरण उच्चस्तरीय आयोगले सो क्षेत्रको जग्गा व्यक्तिको नाममा लालपूर्जा वितरण गरेको थियो ।

वि।सं। २०४६ सालमा व्यक्तिको नाममा जग्गमा वितरण गर्दा सिमसार तथा ताल रहेको क्षेत्रको जग्गा पनि व्यक्तिको नाममा वितरण गरिएको थियो ।

सो बेला तालको जग्गाका जग्गाधनी अधिकासं एउटै परिवारका सदस्य रहेका छन् भने मालपोतमा दर्ता गर्ने बेला वारेस मार्फत दर्ता भएको देखिएको छ । ती वारेस पनि एउटै व्यक्ति भएको मालपोतको श्रेस्ताबाट प्रष्टै बुझिन सकिन्छ ।

आयोगको सो बेलाका दस्तावेजहरु कहाँ छन् कसैलाई पनि थाहा छैन् । अझैपनि केही व्यक्तिहरु सो ताल रहेको कित्ताको जग्गाको तिरो तिर्नभन्दै वडा कार्यालय आउने गरेको चन्द्रपुर – ८ का वडाध्यक्ष जितेन्द्र चौधरी बताउँछन् । – अनमोल कार्की