बाटो खाली नगराई राष्ट्रपति पौडेल पुगे संसद भवन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल नीति तथा कार्यक्रम वाचनका लागि संसद भवनमा पुगेका छन् । विगतको परम्परा तोड्दै राष्ट्रपतिको ‘सवारी’ मा आज बाटो खाली गराइएन ।

राष्ट्रपति पौडेलले आफ्नो सवारीलाई तामझामयुक्त नबनाउन पहिल्यै निर्देशन दिएका थिए । त्यस बमोजिम उनको कारगेट परम्परागतभन्दा छोट्याइएको छ ।

यसअघि राष्ट्रपति आउँदा एभरेस्ट होटलदेखि घोडाले समेत स्कर्टिङ गर्ने गरिएको थियो । आज घोषणालाई संसद भवनकै अगाडि राखियो र औपचारिकता मात्रै निभाइयो ।

आम सर्वसाधारणकै आउजाउ बीचबाट राष्ट्रपतिको कारगेट चलेको थियो । एकतर्फीरुपमा पनि बाटो खाली गराइएन । यद्यपि, बानेश्वरको आकाशेपुलबाट भने मानिसहरुलाई ओरालिएको थियो ।