लामिछानेको मुद्दा न्यायाधीश पराजुलीको इजलासमा

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य सन्दीप लामिछानेविरुद्धको मुद्दा न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीको इजलासमा परेको छ । लामिछानेको मुद्दाको पेसी आज काठमाडौं जिल्ला अदालतमा तोकिएको हो ।

सर्वोच्च अदालतले फास्ट ट्रयाकबाट टुङ्ग्याउन आदेश दिए पनि लामिछानेको पेसी दुईपटक स्थगित भइसकेको छ । पहिलो पेसी उनका पक्षका कानुन व्यवसायीले स्थगित गरेका थिए । दोस्रो पेसी भने समय अभावका कारण नभ्याइनेमा राखिएको थियो ।

गत वर्षको भदौमा एक नाबालिकलाई जबरजस्तीकरणी गरेको आरोपमा सन्दीपविरुद्ध मुद्दा चलिरहेको हो । यसअघि काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेशलाई पाटन उच्च अदालतले सर्तसहित २० लाख धरौटीमा थुनामुक्त गर्न आदेश दिएको थियो ।

फौजदारी अभियोग भएको हुँदा सन्दीपले प्रत्येक पेसीमा आफैं अदालतमा उपस्थित हुनुपर्छ । उपस्थित हुन नसके २१ दिनभित्रमा उनले तारेख बुझ्नुपर्छ । आज तय भएको पेसी अगाडि नबढे सन्दीपले एकदिवसीय विश्वकप छनोटको तयारीस्वरूप खेलिने अभ्यास खेल गुमाउने सम्भावना छ । नेपाली टोली केही दिनमा अभ्यासका लागि दक्षिण अफ्रिका भ्रमणमा जाँदैछ ।

क्यानका अनुसार दक्षिण अफ्रिकामा अभ्यास गरेपछि टोली उतैबाट विश्वकप छनोट खेल्न जिम्बाब्वे जानेछ । छनोट प्रतियोगिता आगामी १८ जुनदेखि ९ जुलाईसम्म आयोजना हुँदैछ ।