कर्मचारीहरुको मिलेमतोमा गौर भन्सारबाट आधा मूल्यमै मल लिलाम

काठमाडौं । रौतहट भन्सार कार्यालय गौरका कर्मचारीहरुले ‘सेटिङ’मा न्यून मूल्यमा रासायनिक मल लिलाम गरेको पाइएको छ । लिलाम प्रक्रियामा गल्ती भएको भनेर भन्सार प्रमुखले स्वीकार गरेका छन् भने जिल्ला प्रशासन कार्यालयले कागजपत्र झिकाएर अध्ययन गरिरहेको छ ।

गत सोमबार गौर भन्सार कार्यालयका पाँच जना कर्मचारीहरुको मिलेमतोमा २० लाख रुपैयाँ बराबरको रासायनिक मल १० लाख २ हजार रुपैयाँमा लिलाम गरिएको थियो । त्यसका लागि कर्मचारीहरुले दुई घण्टे सूचना जारी गरेका थिए भने रासायनिक मलको कारोबार गर्ने अनुमति नै नभएका कम्पनीलाई समेत लिलाम प्रक्रियामा समेटेका थिए ।

जेठ १ गते नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले रौतहटको राजपुर ५ मा रहेको एक गोदाममा भारतबाट अवैध तरिकाले भित्राइएको १ हजार ३०६ बोरा रासायनिक मल बरामद गरेर आवश्यक कारवाहीका लागि गौर भन्सारमा बुझाएको थियो । भारतबाट अवैध रुपमा तस्करी गरी गोदाममा थन्क्याइएको अवस्थामा बरामद भएको सो मल नियन्त्रणमा लिन प्रहरीले चार राउन्ड अश्रुग्याँस प्रहार गर्नुपरेको थियो ।

प्रहरीले ८०३ बोरा युरिया, ४७९ बोरा डिएपी र २४ बोरा पोटास बरामद गरेर भन्सार कार्यालयमा बुझाएको थियो । प्रहरीले भन्सारमा बुझाएको प्रतिवेदनमा सो मल २० लाख २ हजार ६० रुपैयाँ बराबरको रहेको उल्लेख छ । तर गौर भन्सारले १० लाख २ हजार रुपैयाँमा जय माँ दुर्गा सप्लायर्स राजपुरलाई सोमबार बेलुकी लिलाम गरेको पाइएको छ ।

लिलाम प्रक्रियामा नायब सुब्बा रेवती रोक्का सहित नायब सुब्बाहरु शिवहरी निरौला, नवीन कुमार ठाकुर, गजेन्द्र थापा, निशा सर्राफलगायतले बदमासी गरेको आरोप लागेको छ ।