बजेटलगत्तै प्रधानमन्त्रीको भारत भ्रमण

फाईल तस्बिर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण बजेटलगत्तै हुने भएको छ। जेठ १५ गते संसद्‍मा बजेट प्रस्तुत भएपछि उनी भारत भ्रमणमा जाने तय भएको हो।

संसद्‍मा जेठ १५ गते बजेट प्रस्तुत हुने संवैधानिक व्यवस्था छ। जेठ १७ गते प्रचण्ड नयाँ दिल्ली जाने गरी तयारी भएको बुझिएको छ। भ्रमणका क्रममा हुने वार्ता र सम्झौताका मस्यौदाहरूसमेत आदानप्रदान भइरहेको छ।

यसअघि वैशाख तेस्रो साता नै प्रचण्ड भारत भ्रमणमा जाने तयारी भए पनि भारतीय प्रधानमन्त्रीको समय नमिल्दा रोकिएको थियो। प्रचण्डले हिजो एक कार्यक्रममा आफू चाँडै भारत जाने बताएका थिए। यो भ्रमणमा केही रेकर्ड राख्ने तयारी भएको पनि उनले दाबी गरेका छन्।

पछिल्लोपल्ट प्रधानमन्त्री भएपछि यो उनको पहिलो विदेश भ्रमण हुनेछ। पहिलो विदेश भ्रमण भारतबाटै सुरु गर्ने ध्येयका साथ उनले अन्य देशका आमन्त्रणहरू पन्छाउँदै आएका छन्।