‘ए’ डिभिजन लिगमा आज तीन खेल हुँदै

फाईल तस्बिर

काठमाडौं । काठमाडौंमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदै छन् । लिगको दोस्रो लेगको सातौँ चरणअन्तर्गत आज तीन खेल हुन लागेका हुन् ।

आइतबार हुने पहिलो खेलमा एपिएफ क्लब र मनाङ मर्स्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुनेछ । यी दुई टोलीबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो ३ बजे सुरु हुनेछ ।

एपिएफ आज सातौँ जितको खोजीमा छ ।  एपिएफ १९ खेलमा २२ अंकसहित दसौँ स्थानमा रहेको छ । यस्तै, मनाङ छैटौँ जित निकाल्न चाहन्छ । मनाङ १९ खेलमा २३ अंक जोडेर आठौँ स्थानमा छ ।

दशरथ रंगशालामा हुने दोस्रो खेलमा संकटा क्लबले जावलाखेल युथ क्लबको सामना गर्नेछ । यी दुई टोलीबीचको खेल साँझ ६ बजे सुरु हुनेछ । जावलाखेल दसौँ जितको योजनामा छ । ऊ १९ खेलसहित ३२ अंकका साथ दोस्रो स्थानमा रहेको छ ।

संकटा छैटौँ जित निकाल्न चाहन्छ । ऊ १९ खेलमा २२ अंक जोडेर ११ औँ स्थानमा रहेको छ । च्यासल मैदानमा हुने अर्को खेलमा न्युरोड टिम एनआरटी र मछिन्द्र फुटबल क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

एनआरटी र मछिन्द्रबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ । एनआरटी आज छैटौँ जितको खोजीमा हुनेछ । एनआरटी १९ खेलमा २३ अंकका साथ नवौँ स्थानमा रहेको छ ।

मछिन्द्र १९ खेलमा ३१ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । यदि आजको खेल जिते ऊ अंक तालिकाको दोस्रो स्थानमा उक्लिने छ ।