स्नातक उत्तिर्ण गरेका विद्यार्थीलाई मात्रै विदेश जान दिनुपर्छ : रघुजी पन्त

काठमाडौं । नेकपा एमालेका सांसद् रघुजी पन्तले स्नातक उत्तिर्ण गरेका विद्यार्थीलाई मात्रै विदेश जान दिनुपर्ने बताएका छन् । प्रतिनिधि सभामा बोल्दै सांसद् पन्तले यस्तो बताएका हुन् ।

त्यस्तै पन्तले स्नातक तह उत्तीर्ण नगरेका विद्यार्थीलाई अध्ययनका नाममा विदेश पठाउन नहुने प्रस्ताव समेत अघि सारेका छन्।

१२ कक्षा उत्तीर्ण गरेका विद्यार्थीलाई विदेश पठाउन नहुने उनको धारणा छ ।

पन्तले भने, ‘कम्तिमा स्नातक उत्तिर्ण गरेका विद्यार्थीलाई मात्रै विदेश जान दिनुपर्छ। कति जना ड्रगिस्ट भएका छन्, कतिपय गलत संगतमा परेका छन्। विदेशी सम्बन्धन लिएर पढाउने कलेजलाई बन्द गर्नुपर्छ।’

पन्तले नेपालका विश्वविद्यालयले शिक्षालाई स्तरोन्नति गर्न जरुरी रहेको बताए।

पन्तले भने, ‘शिक्षालाई वैज्ञानिक बनाउन आवश्यक छ। २१ औं शताब्दीको चुनौतिलाई सामना गर्ने शिक्षा बनाउनुपर्‍यो। विदेशी शिक्षा पढाउनु भनेको विदेशीका लागि जनशक्ति उत्पादन गर्नु हो। १२ कक्षा पास गरेकाले छात्रवृत्ति प्राप्त गरे पठाऔं। तर, आफ्नो खर्चमा विदेश पठाउन कम्तिमा स्नातक उत्तीर्ण गरेकालाई मात्रै अनुमति दिनुपर्छ।’