‘मानिसले लडेको युद्धलाई जनयुद्ध नै भनिन्छ, भालुयुद्ध हैन’

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले मानिसले लडेको युद्धलाई जनयुद्ध नै भनिने बताए। सोमबार प्रतिनिधि सभाको बैठकमा आर्थिक वर्ष २०८/८१ को नीति तथा कार्यक्रममाथि छलफल गर्ने क्रममा सांसद पौडेलले मानिसले लडेको युद्धलाई जनयुद्ध अथवा जनआन्दोलन नै भनिने बताएका हुन् ।

त्यसअघि नेकपा (एमाले) का सांसद योगेश भट्टराईले बोल्ने क्रममा निति तथा कार्यक्रममा जनयुद्ध भन्ने शब्द परेको भन्दै भट्टराईलाई जवाफ दिँदै सांसद पौडेलले सो युद्ध माछा, भालु, अर्ना, रुख र ढुंगाहरुले नलडेको भन्दै मानिसले लडेका कारणले जनयुद्ध भएको स्पष्ट पारे ।

‘माननीयजीलाई एकपटक डिक्सनरी पल्टाएर हेर्न म अनुरोध गर्न चाहन्छु । यो माछायुद्ध थियो ? भालुयुद्ध थियो ? जंगलका अर्नाहरु लडेका थिए ? कि रुख, ढुंगाहरु लडेका थिए ? माननीयजी डिक्सनरी पल्टाएर हेर्नुहोला,’ पौडेलले भने, ‘मानिसले लडेको युद्धलाई कि जनआन्दोलन भनिन्छ । कि जनयुद्ध भनिन्छ । मानिसका छोराहरुले लडेका युद्ध थियो । बिर्सिनुभयो बृहत शान्ति सम्झौता ? तपाईको नेताले हस्ताक्षर गरेको १२ बुँदे सहमति बिर्सिनुभयो ? हामी त्यही श्रृङ्खलामा छौँ । त्यसकारण म के भन्न चाहन्छु भने नेपाली जनतालाई सार्वभौम बनाउनको निम्ति, संविधानसभाबाट संविधान बनाउनको निम्ति जनयुद्ध लडिएको थियो ।’

‘म हजार पटक आँखा जुधाएर बहस गर्न तयार छु, आउनुस् बहस गर्न यहाँ समय नमिल्ला । नेपाली जनताले एकात्मक शाहवंशीय राजतन्त्रको अन्त्य गरेर संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउनका लागि लडाइँ लडिएको थियो । हामी सबैपछि सहकार्य ग¥यौँ । जनआन्दोलनमा आयौँ । सलाम छ । तर इतिहासलाई नबिर्सौ । रोष्टममा आएर कटाक्ष गर्नुभन्दा मिलेर जाने कुरा गरौँ यहाँ । माननीयज्युहरु धनगढीमा गएर तपाईहरुले अहिले चलिरहेको छ नागरिक अभिनन्दन । राजतन्त्र फर्काउने कुरा । त्यहाँ गएर बहस गर्नुस् । हामी यहाँ सहकार्य गर्न तयार छौँ । आजको इतिहास सबैले मिलेर ल्याएको गणतन्त्रलाई जोगाएर अगाडी बढ्ने इतिहास हो । विगतमा सबै आन्दोलनप्रति सम्मान गर्न सिकौँ ।’ सांसद पौडेलले भने ।