नेपाली क्रिकेट टिम आगामी साता दक्षिण अफ्रिका जाँदै

फाईल तस्बिर

काठमाडौं । आगामी महिना जिम्बावेमा हुने आइसिसी क्रिकेट विश्वकप छनोट प्रतियोगिताको अन्तिम तयारीका लागि नेपाली राष्ट्रिय क्रिकेट टिम आगामी साता दक्षिण अफ्रिका जाने भएको छ।

नेपाली टिमलाई मे ३१ (जेठ १७ गते) मा दक्षिण अफ्रिका पठाउने तयारी नेपाल क्रिकेट संघ (क्यान) ले गरिरहेको छ।

दक्षिण अफ्रिका जानुअघि नेपाली टिमले एक साता घरेलु मैदानमै तयारी गर्नेछन्। जसका लागि भोलिदेखि तयारी सुरु हुनेछ। दक्षिण अफ्रिका जानु अघि नेपालले विश्वकप छनोटका लागि राष्ट्रिय टिम घोषणा गर्नेछ।

नेपालले दक्षिण अफ्रिकामा दश दिन तयारी गर्नेछ भने टिम प्रतियोगिता सुरु हुनुभन्दा एक साताअघि उतैबाट जिम्बावे पुग्नेछ।

जिम्बावेमा आगामी जुन १८ देखि सुरू हुने विश्वकप छनोटमा चार टेस्ट राष्ट्रसहित १० टिमले भाग लिँदैछन्। दुई पटकको च्याम्पियन वेस्ट इन्डिज, पूर्वविजेता श्रीलंकासहित आयरल्यान्ड र जिम्बावेले प्रतियोगितामा भाग लिँदैछन्।

नेपालसहित ओमान र स्कटल्यान्डले लिग-२ बाट विश्वकप छनोटमा स्थान पक्का गरेका थिए। यस्तै युएई र अमेरिकाले लिग-२ बाट विश्वकप छनोटमा स्थान बनाउन नसक्दा क्वालिफायर प्लेअफबाट जिम्बावेको टिकट काटेका थिए।

छनोट प्रतियोगिताबाट दुई टिम आगामी अक्टोबर-नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकपमा पुग्नेछन्।

विश्वकप छनोटमा सहभागी हुने टिमहरू वेस्ट इन्डिज, श्रीलंका, जिम्बावे (आयोजक), आयरल्याण्ड, नेदरल्याण्ड्स, स्कटल्याण्ड, ओमान, नेपाल, अमेरिका र युएई रहेका छन्

विश्वकप छनोटमा पुगेका १० टिमलाई सुरुमा दुई समूहमा विभाजन गरिनेछ। पाँच/पाँच टिमको दुई समूहका लिग खेलपछि सुपर सिक्स हुनेछ। सुपर सिक्समा दुवै समूहका शीर्ष तीन/तीन टिम पुग्नेछन्।

सुपर सिक्समा ६ टिमले एक आपसमा भिड्नेछन्। जहाँ शीर्ष दुईमा पर्न सक्ने टिम आगामी अक्टोबर/नोभेम्बरमा भारतमा हुने आइसिसी विश्वकप क्रिकेटमा छनोट हुनेछन्।