एक हजार बढि नयाँ सवारीसाधन वीरगञ्जमै थन्किएर बस्लान् कि ल्याईएला चोभार ?

फाईल तस्बिर

काठमाडौं । पुराना गाडी चोभार सुक्खा बन्दरगाहमा सार्न कानुनी व्यवस्था भइसके पनि वीरगञ्ज एकीकृत जाँच चौकी र वीरगञ्ज सुक्खा बन्दरगाहमा अझै एक हजार ९५० वटा नयाँ जीप र भ्यान अड्किएर बसिरहेका छन् । जसका कारण नेपाल इन्टरमोडल यातायात विकास समितिले वीरगञ्ज सुक्खा बन्दरगाहमा रहेका नयाँ जीप र भ्यानलाई चोभार सुक्खा बन्दरगाहमा सार्न अटोमोबाइल व्यवसायीसँग आग्रह गरेको छ।

वीरगञ्जमा ठाउँ साघुँरो भएको भएको भन्दै समितिले चोभार सुक्खा बन्दरगाहमा सार्न आग्रह गरेको हो।

‘वीरगञ्जमा ठाउँ सानो छ। यता खाली छ त्यही भएर पुराना गाडी यहाँ ल्याउन व्यवसायीसँग आग्रह गरेका छौं,’ समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले भने।

आइतबार समितिले नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालसँग यस विषयमा छलफल गरेको थियो।

सो छलफलका क्रममा समितिका कार्यकारी निर्देशक गजुरेलले चोभार सुक्खा बन्दरगाह पूर्ण क्षमतामा सञ्चालन गर्नका लागि निजी क्षेत्रको साथ चाहिएको बताए।

उनले विदेशबाट आयातीत गाडी वीरगञ्ज नाकाबाट सिधै चोभार सुक्खा बन्दरगाहसम्म गुडाएर ल्याउने व्यवस्थाका लागि पनि व्यवसायीसँग अनुरोध गरे।

उक्त छलफलमा नयाँ गाडीहरूको आयातको लागि चोभार सुक्खा बन्दरगाहबाट भन्सार जाँच पास हुने गरी नयाँ एलसी खोलिएको र सोही बमोजिम नयाँ गाडीहरू चोभार सुक्खा बन्दरगाह काठमाडौंमा भन्सार जाँचपास हुने नाडाका अध्यक्षज्य ध्रुव थापाले जानकारी गराए।

समितिले चोभार सुक्खा बन्दरगाह पूर्ण क्षमतामा सञ्चालन गर्न विभिन्न निकायका व्यवसायीसँग छलफल गर्दै आएको छ।
नेपालको अन्तर्राष्ट्रिय व्यापारलाई सरल, व्यवस्थित र सहज बनाउने उद्देश्यले नेपाल–भारत बीच हाल विराटनगरमा १, वीरगञ्जमा २, भैरहवामा १ र काकडभिट्टामा १ गरी कुल ५ वटा सुक्खा बन्दरगाह सञ्चालनमा छन्।

त्यस्तै, चीनतर्फ सिन्धुपाल्चोकको तातोपानीमा एउटा सुक्खा बन्दरगाह सञ्चालनमा छ।