बंगलादेशलाई हराउँदै नेपाल सेमिफाइनलमा

काठमाडौं । नेपालले सेन्ट्रल एसियन भलिबल एसोसियसन (काभा) महिला भलिबल च्यालेन्ज कप–२०२३ को सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा बंगलादेशमाथि ३-० को सोझो सेटमा जित हात पार्दै नेपाल सेमिफाइनलमा पुगेको हो । तुलनात्मक रुपमा कमजोर टोली बंगलादेशविरुद्ध पहिलो सेट २५–१० ले आफ्नो पक्षमा पारेको नेपालले दोस्रोमा २५–८ र तेस्रोमा २५–९ को सहज जित जित्न सफल भयो ।

पहिलो खेलमा किर्गिस्तानलाई ३–० को सोझो सेटमा पराजित गर्दै सुखद् सुरुवात गरेको घरेलु टोली नेपालले समूह चरणको अन्तिम खेलमा भारतसँग भिड्नुअगावै सेमिफाइनलमा स्थान बनाएको हो ।

बंगलादेश पहिलो खेलमा पनि भारतसँग पराजित भएको थियो ।