भुटानी शरणार्थी प्रकरण : मुद्दा न्यायाधीश न्यौपानेको इजलासमा

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणसम्बन्धी मुद्दा न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा परेको छ ।

काठमाडौं जिल्ला अदालतमा दायर ठगी, लिखत कीर्ते, राज्यविरुद्धको कसुर र संगठित अपराधको मुद्दा २५ नम्बर इजलासमा न्यायाधीश न्यौपानेको इजलासमा परेको हो ।

सो मुद्दामा शुक्रबारबाट न्यायाधीशसमक्ष बयान सुरु हुन लागेको हो । बयान र थुनछेक प्रयोजनका लागि न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा पेसी तोकिएको छ । गोला प्रकृयाबाट भएको पेसीमा न्यायाधीश न्यौपानेको इजलासमा उक्त मुद्दा परेको हो ।

थुनछेक प्रयोजन नसकिँदासम्म यो मुद्दा न्यायाधीश न्यौपानेकै इजलासमा हेर्दाहेर्दैमा रहनेछ । न्यायाधीश बिरामी परेको वा अन्य कुनै कारण भएमा भने उक्त मुद्दा अन्य न्यायाधीशको इजलासमा समेत पर्न सक्नेछ ।

नक्कली भुटानी शरणार्थी प्रकरणको बयान र थुनछेकका लागि कम्तीमा दुई साताको समय लाग्नेछ । चार वटा छुट्टाछुट्टै मुद्दा र ३० जना प्रतिवादी भएको कारण थुनछेक प्रयोजनकै लागि कम्तीमा दुई साता लाग्ने अनुमान गरिएको छ ।

सरकारवादी मुद्दा र चार वटा फरक फरक कसुर लगाइएको तथा ३० जना प्रतिवादी रहेको कारण यो मुद्दामा सरकारी वकिलको तर्फबाट प्रतिवादीलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने भन्दै बहस गर्नेछन् । सरकारी वकिलले बढीमा तीन दिनमा प्रतिवादीहरुलाई थुनामै राखी मुद्दाको पुर्पक्ष गर्नुपर्ने आधार र कारण तथा प्रमाणहरू पेस गर्नेछन् ।

सरकारी वकिल कार्यालयले अदालतमा पेस गरेको अभियोगपत्रमा प्रतिवादीहरूको पासपोर्ट रोक्कासम्मको जिकिर लिएको कारण अदालतले धरौटी वा साधारण तारेखमा छोड्न आदेश दिएमा ती प्रतिवादीको हकमा पासपोर्ट रोक्का पनि राख्ने आदेश दिन सक्नेछ ।

बुधबार सरकारी वकिल कार्यालय काठमाडौंले पूर्व गृहमन्त्री बालकृष्ण खाण, पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, नेपाल सरकारका बहालवाला सचिव टेक नारायण पाण्डे लगायतका ३० जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो ।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै सरकारी संयन्त्रमै रहेका पदाधिकारीको मिलेमतोमा १४५ जनाभन्दा बढीसँग २८ करोड ८४ लाख ठगी भएको थियो ।

सोही प्रकरणमा मिलेमतो गरी ठगी गरेको भन्दै प्रहरीमा जाहेरी परेपछि जिल्ला प्रहरी परिसर काठमाडौंको रायसहितको प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले ३० जनाविरुद्ध मुद्दा चलाउन राय दिएको थियो । सोही रायका आधारमा सरकारी वकिल कार्यालयले पक्राउ परेका १६ जना र फरार रहेका १४ गरी कुल ३० जनाविरुद्ध चारवटा छुट्टाछुट्टै मुद्दा दायर गरेको थियो ।