सुनको जलहरी प्रकरण : ओलीमाथि लगाइएको भ्रष्टाचार आरोप हटाइयो

काठमाडौं । पशुपतिनाथ मन्दिरको जलहरी सुनको भनेर पित्तल लगाएर तत्कालीन प्रधानमन्त्री केपी ओलीको पालामा भ्रष्टाचार भएको भन्ने माओवादी सांसद लेखनाथ दाहालको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइएको छ ।

शनिबारको बैठकमा उक्त आरोप सभामुख देवराज घिमिरेले रेकर्डबाट हटाउन सचिवालयलाई निर्देशन दिएका छन् ।

सांसद दाहालले बुधबार नीति तथा कार्यक्रममाथिको छलफलमा ओलीको पालामा भ्रष्टाचारका काण्डै काण्ड भएको भन्दै जलहरी काण्ड पनि उल्लेख गरेका थिए । जलहरी बनाउँदा करिब ११ किलो सुन गायब भएको महालेखापरीक्षकको कार्यालयले आफ्नो ५९औँ प्रतिवेदनमा उल्लेख गरेको छ । त्यस्तै, यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानबिन गरिरहेको छ ।

तर, एमालेले तथ्यबिना नै आफ्नो नेतालाई भ्रष्टाचार गरेको भनेर आरोप लगाएको भन्दै शुक्रबार सदन अवरुद्ध नै गरेको थियो । जलहरी बनाइएको विषयमा सरकारले धारणा स्पष्ट पार्नुपर्ने, आरोप लगाउने सांसदले माफी माग्नुपर्ने र आरोप संसदको रेकर्डबाट हटाउनुपर्ने माग एमालेले राखेको थियो ।

जेठमा बजेट सदनमा पेस गर्नुपर्ने बाध्यतामा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नीति तथा कार्यक्रममाथिको छलफल नै प्रभावित हुने गरी सदन अवरुद्ध भएपछि एमालेसँग छलफल गरेर जलहरीमा आफ्नो पार्टीका सांसदको अभिव्यक्ति उचित नभएको भनेर स्पष्टीकरण दिने र संसद्को रेकर्डबाट हटाउने सहमति गरेका थिए ।

सहमतिपछि शनिबार साँझ ५ बजे सुरु भएको संसद बैठकको सुरुवातमै बोल्दै प्रधानमन्त्री प्रचण्डले पशुपति विकास कोषसँग क्षेत्राधिकारभित्र पर्ने पशुपतिको जलहरीसम्बन्धी विषयमा प्रमुख प्रतिपक्षी दलको नेतालाई जोडेर सदनमा विचार व्यक्त हुनु उचित नभएको बताए ।

‘अख्तियारको समेत छानबिनमा रहेको पशुपति विकास कोषको कार्यक्षेत्रसँग सम्बन्धित पशुपतिको जलहरीसम्बन्धी विषयमा प्रमुख प्रतिपक्षी दलको नेतालाई जोडेर सदनमा विचार व्यक्त हुनु उचित होइन । यस्ता विषय संसद्को रेकर्डबाट हटाउने प्रचलन रहेकै छ,’ प्रधानमन्त्री प्रचण्डले भने ।

त्यसपछि सभामुख देवराज घिमिरेले माओवादी सांसद लेखनाथ दाहालले आफ्नो सम्बोधनमा उल्लेख गरेको ‘स्वास्थ्य सामग्रीको दुई अर्बको भ्रष्टाचार र पशुपतिनाथको जलहरी लगाउँदा सुन भनेर पित्तल लगाएर गरेको भ्रष्टाचारहरू’ भन्ने शब्द संसद्को अभिलेखबाट हटाउन सचिवालयलाई निर्देशन दिएका थिए ।

ताजा अपडेट