कोशी प्रदेशको नाम पुन: संसोधनको माग गर्दै आन्दोलन गर्ने १७ जना पक्राउ, सुरक्षा व्यवस्था कडा

काठमाडौं । कोशी प्रदेशको नाम पहिचानका आधारमा पुन: संसोधन गर्न माग गर्दै प्रदेश सभा सचिवालय अगाडि प्रदर्शन गर्न खोज्ने १७ जना पहिचान पक्षधर प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रदेश सभा सचिवालय नजिकै देवकोटा चोक र अस्पताल चोक बाट प्रदर्शनकारीलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।

निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्न थालेपछि पक्राउ गरेको उनले बताए । पक्राउ परेकाको साथ बाट गुलेली र ढुंगा बरामद भएको प्रहरीले जनाएको छ ।

प्रदेश सभाको दोस्रो तथा बजेट अधिवेशन आज दिउँसो २ बाट सुरु हुँदैछ । प्रदेश सभाले गत फागुन १७ गते प्रदेशको नाम राखपछि पहिलोपटक बैठक बस्न लागेको हो । प्रदेश सभाको बजेट अधिवेशनलक्षित आन्दोलन घोषणा गरेका पहिचान पक्षधरले आज बिहानैदेखि प्रदेश सभा सचिवालय अगाडि प्रदर्शन गर्ने तयारी गरेको थियो ।

आन्दोलनको जानकारी पाएपछि प्रहरीले प्रदेश सभा सचिवालय आसपासको सुरक्षा व्यवस्था कडा पारेको छ । प्रदेश सभातर्फ जाने चारतिरकै सडक खटिएको प्रहरीले बटुवालाई पनि फर्काइरहेको छ ।

विराटनगर आउने सवारी साधनको चेकजाँचमा पनि प्रहरीले कडाइ गरेको छ । प्रहरी प्रवक्ता दाहालले सुरक्षा सतर्कता उच्च बनाइएको बताए ।