विशेष समारोहका बीच टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस

काठमाडौं । आज गणतन्त्र दिवस मनाइएको छ । सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहका बीच विभिन्न झाँकी प्रस्तुत गरि गणतन्त्र दिवस मनाईएको हो ।

समारोहमा राष्ट्रपतिको सम्मानमा नेपाली सेनाको टुकडीले सलामी अर्पण गरेको थियो । समारोहलाई प्रधानमन्त्री पुष्पकमल दाहालले सम्बोधन गरेका थिए ।

सो अवसरमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ लगायत उच्च पदस्थ व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

नेपाली जनताको लामो बलिदान र सङ्घर्षको उपलब्धिका रूपमा डेढ दशकदेखि यो दिवस मनाइने गरिएको छ । वि।सं। २०६२/६३ को ऐतिहासिक जनआन्दोलनका माध्यमबाट मुलुकमा राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापना भएको हो ।

तत्कालीन सात राजनीतिक दल र नेकपा (माओवादी) बीच भएको सहमति अनुसार वि.सं. २०६४ चैत २८ गते ऐतिहासिक संविधानसभाको निर्वाचन भयो । विसं २०६५ जेठ १५ गते संविधानसभाको प्रथम बैठकले दुई सय ४० वर्षदेखि कायम रहेको शाहवंशीय राजतन्त्र अन्त्य गर्दै गणतन्त्र घोषणा गरेको थियो ।