सरकारले भ्रष्टाचार नियन्त्रण गर्न नसक्नाले जनतामा नकारात्मक छाप परिसक्यो : शेखर कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सरकारले भ्रष्टाचार नियन्त्रण गर्न, सुशासन दिन, विधिको शासनमा देशलाई हिँडाउन, महँगी नियन्त्रण गर्न नसकेकै कारण जुन व्यवस्था आए पनि उस्तै रहेछ भन्ने छाप जनतामा परेको बताएका छन् ।

नेपाली कांग्रेस ललितपुर निर्वाचन क्षेत्र नं. १ को प्रथम सम्मेलनलाई सम्बोधन गर्दै कोइरालाले राजनीतिक दलका शैली र क्रियाकलाप ठिक नभएकाले गणतन्त्रप्रति जनताको वितृष्णा पैदा भएको बताए ।

उनले भने‚ ‘राजाका गतिविधि हुने बित्तिकै गणतन्त्र खतरामा पर्ने भयो भनेर भन्छौं तर उनीबाट होइन, यदि गणतन्त्र खतरामा कसैबाट छ भने राजनीतिक दलहरुबाटै छ ।’

नेता कोइरालाले कांग्रेस पार्टीका बारेमा नकारात्मक कुरा गरेर संगठन कमजोर बनाउने काम नगर्न कार्यकर्तालाई निर्देशन दिए ।