मलेसियाविरूद्ध नेपालको खराब प्रदर्शन

काठमाडौं । मलेसियाविरूद्धको पाँच खेलको टी-२० सिरिजअन्तर्गत पहिलो खेलमा नेपाली महिला क्रिकेट टिमले खराब प्रदर्शन गरेको छ। आज घरेलु टिम मलेसियाले नेपालमाथि हाबी हुँदै ५ विकेटको जित निकालेको छ।

मलेसियामा भएको पहिलो खेलमा पहिले ब्याटिङ गरेको नेपालले १६.५ ओभरमा ५० रनमै अलआउट भयो।

नेपालका लागि ज्योती पाण्डेले ११ रन र सम्झना खड्काले १३ रन जोड्दा अन्य ब्याटर दोहोरो अंकमा रन जोड्न नपाइ आउट भए।

नेपालको ब्याटिङलाई ध्वस्त पार्ने क्रममा मलेसियाकी निक नुरले ३ विकेट लिइन्। महिराह इम्माइल, आइना हसिम र आइसा फिर्दाउले २-२ विकेट लिए।

५१ रनको लक्ष्य मलेसियाले ५ विकेटको क्षतिमा १३.२ ओभरमा पूरा गर्‍यो।

उसका लागि वान जुइलाले १३ रन र आइना हसिमले नटआउट १२ रन जोडिन्।

बलिङमा नेपालका सीता रानामगरले २ विकेट लिइन्। दुई टिमबीच भोलि दोस्रो खेल हुनेछ।