२ अर्ब हिनामिना गरि फरार भएका नगरप्रमुख काठमाडौंमा ?

काठमाडौं। दुई सातादेखि बेखबर रहेका बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली भारत पुगेको आशंका गरिए पनि उनि काठमाडौंमै बसेर राजनीतिक भेटघाट र ‘सेटिङ’ मिलाई रहेको आशंका पिडितले गरेका छन्।

नेपालीले एउटै नाममा दुईवटा सहकारी सञ्चालन गरी झण्डै २ अर्ब हिनामिना गरेको पीडितहरूको अनुमान छ। उनले पोखरा र बागलुङमा इमेज बचत तथा ऋण सहकारी नामको २ वटा सहकारी सञ्चालन गरेका थिए।

बागलुङमा सहकारीको मुख्य कार्यालय बागलुङ बजारमा छ भने बुर्तिवाङ र गलकोटमा सेवा केन्द्रमार्फत आर्थिक कारोबार हुँदै आएको छ। त्यही नामको सहकारी पोखरामा पनि दर्ता छ। पोखरामा इमेज सहकारीको ५० करोड र बागलुङमा डेढ अर्ब रकम हिनामिना भएको पीडितको दाबी छ।

राजनीतिकरूपमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसम्म पहुँच बनाएका मेयर नेपाली प्रायजसो ‘हेलिकोप्टर’मार्फत काठमाडौं आउ जाउ गर्दथे। २०७४ अगाडिसम्म नेकपा माओवादी केन्द्रमा रहेका नेपाली ०७४ को स्थानिय निर्वाचनमा माओवादीबाट ढोरपाटनको मेयर बन्न चाहन्थे तर, माओवादीले टिकट नदिएपछि एमाले प्रवेश गरे। एमाले प्रवेशसँगै टिकट पाएर मेयर बनेका नेपाली २०७९ को स्थानिय निर्वाचनमा दोस्रोपटक मेयर निर्वाचित भए।

नेकपा एमालेबाट दोस्रोपटक नगरप्रमुख निर्वाचित नेपाली सो पार्टीको गण्डकी प्रदेश कमिटी सदस्यसमेत हुन्। रकम हिनामिनाको आरोप लागेपछि उनलाई एमाले गण्डकीले निलम्बन गरिसकेको छ।

नगरप्रमुख नेपाली जेठ ५ देखि सम्पर्कमा छैनन्। नेपाली माथि सहकारी संस्थाको २ अर्बभन्दा बढी रकम हिनामिनाको आरोप छ। सोही कारण उनि सम्पर्कविहीन भएका हुन्। तर, उनी फरार हुनुमा प्रहरी प्रशासनसमेत जिम्मेवार रहेको पीडितहरू बताउँछन्। ‘सहकारीमा समस्या आएको थाहा पाएर गुनासो सुनाउँदा पनि प्रहरी अधिकृतले नै सहयोग नगरेको देखियो। पीडितले लगेको उजुरी दर्तासमेत गरिएन । जसका कारण देवकुमारले फरार हुने अवसर पाए’ पीडित भन्छन्–‘अहिले पनि प्रशासनले चाहने हो भने पक्राउ पर्न सक्छन्। उनि काठमाडौंमै बसेर सेटिङ मिलाउँदै छन्।’

बागलुङ प्रशासनले मेयर नेपाली सम्पर्कमा नरहेको र रकम हिनामिनाको आरोप लागेपछि देश बाहिर जानसक्ने भन्दै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल र स्थलमार्ग भएर जाने नाकामा कडाइ गर्न पत्राचार गरेको थियो। तर, पीडितहरूसँग समन्वय भने नगरिएको गुनासो छ।