७ दिनभित्र सहमतिमा संसदीय समितिको सभापति चयन गर्नु : सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले एक हप्ताभित्र सहमतिमा संसदीय समितिका सभापतिहरु चयन गर्न प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुलाई आग्रह गरेका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकअघि कार्यव्यवस्था परामर्श समितिको बैठकमा उनले संसदीय समितिको नेतृत्व चयन नहुँदा कामले गति लिन नसकेको भन्दै दलहरुलाई सभापति चयन गर्न आग्रह गरेका बैठकमा सहभागी एक नेताले बताए ।

‘‘सभापति चयन नहुँदा विधेयकहरुको छलफलले गति लिएको छैन, तपाईंहरुले आजको मितिबाट सात दिनभित्रमा सहमतिमा सभापति चयन गर्नुहोस् । अथवा, सात दिनपछि प्रक्रिया (निर्वाचन) बाट नेतृत्व चयन गर्न मलाई सहयोग गर्नुहोस्’ सभामुखको भनाइ उधृत गर्दै ती नेताले भने ।

दलहरुले संसदीय समितिमा रहने सदस्यहरु चयन गरे पनि दलीय सहमति नहुँदा समितिका सभापतिहरु चयन भएका छैनन् । ज्येष्ठ सदस्यको नेतृत्वमा एकाध बैठक बसे पनि संसदीय समितिको कामले गति लिन सकेको छैन ।

४ मंसिरको चुनाव भएपछि प्रतिनिधिसभाको पहिलो बैठक २५ पुसमा बसेको थियो । त्यसपछि १५ वैशाखमा प्रतिनिधिसभाको १० वटा विषयगत समिति गठन भएका थिए भने २ जेठमा पहिलो बैठक बसेको थियो ।