मोदीसँगको भेटपछि धेरै राम्रो र ठूलो कुराको सुरुवात भएको छ : प्रधानमन्त्री

फाईल तस्बिर

काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले समकक्षी नरेन्द्र मोदीसँग तीन पटक भेट गरेपछि मात्रै धेरै राम्रो र ठूलो कुराको सुरुवात भएको बताएका छन्।

आज नयाँ दिल्लीमा उनले नेपाली पत्रकारसँग गरेको कुराकानीमा समकक्षी नरेन्द्र मोदीसँग एक्लाएक्लै तीन पटक भेट गरेर विग्रन लागेको परिस्थितिलाई धेरै कुरामा सहज बनाएको बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले भने,‘मोदीसित हिजो मेरो तीनपटक वान टु वान भेट भयो । त्यसैले सहजतामा लाग्यो । नत्र कुरा बिग्रेला जस्तोथ्यो । धेरै राम्रो र ठूलो कुराको सुरुवात भएको छ।’

बिहीबार नेपाल र भारतीय प्रधानमन्त्रीले गरेको संयुक्त पत्रकार सम्मेलनको क्रममा नेपाल र भारतबीच ऊर्जा र पारवहन लगायत सातवटा विभिन्न विषयमा सम्झौता र समझदारी भएको छ। जसमा उर्जा र पारवहन क्षेत्रमा गरिएको सम्झौता नेपालका लागि दीर्घकालीन र लावदायी रहेको नेपाली पक्षको धारणा छ।

नेपालले उठाउँदै आएको सीमा विवादको विषयमा कुनै सम्झौता नभए पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सिमा समाधानबारे प्रथम पटक बोल्नुलाई प्रधानमन्त्री प्रचण्डले महत्वपूर्ण मानेको पनि उल्लेख गरिएको छ ।

प्रचण्डले आज मध्यप्रदेशको इन्दोर भ्रमण गर्दैछन्। जेठ १७ गते भारतको निम्तोमा चारदिने भ्रमणका लागि नयाँ दिल्ली पुगेका प्रधानमन्त्री प्रचण्ड नेतृत्वको प्रतिनिधि टोलीको शनिबार नेपाल फर्किने कार्यतालीका रहेको छ।