भुटानी शरणार्थी प्रकरण : इजलासमा टोपबहादुरले दिए यस्तो बयान

फाईल तस्बिर

काठमाडौँ । भुटानी शरणार्थी प्रकरणमा बयान दिन इजलासमा उपस्थित भएका पूर्व उप–प्रधानमन्त्री टोपबहादुर रायमाझीले ७ घण्टा बयान दिएका छन् । बिहीबार बयान दिँदा रायमाझीले न्यायाधीश सामु प्रहरीको हिरासतमा ‘टर्चर’ हुने गरेको पनि गुनासो गरेका छन् । बयान दिनुअघि रायमाझीले अधिवक्ता करुणाकर मल्लिक र आकृति रायमाझीसँग परामर्श गरेका थिए ।

‘चार पटक सांसद भएँ, उप–प्रधानमन्त्रीसम्म भएको मान्छे हुँ राज्यको लागि काम गर्नेले भुटानी बनाएर नेपालीलाई अमेरिका पठाउने कल्पना पनि गर्न सकिँदैन ।’

काठमाडौँ जिल्ला अदालतको २५ नम्बर इजलासमा न्यायाधीश प्रेम प्रसाद न्यौपाने सामु नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझीले थप भन्दै गए–‘अफ द रेकर्ड, मेरो विरुद्ध राजनीतिक चलखेल भएको छ श्रीमान् ।’

वैशाख ३१ मा पक्राउ परेका रायमाझीविरुद्ध एकजना पीडितले जिल्ला प्रहरी परिसर काठमाडौँमा ‘भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउँछु’ भनेर पैसा लिएको आरोपमा जाहेरी दिएका थिए । आफू पक्राउ परिसकेपछि योजनाबद्ध जाहेरी दर्ता गरिएको जिकिर गर्दै रायमाझीले बयानमा भनेका छन्–‘जाहेरी योजनाबद्ध आएको छ, म जाहेरवालालाई चिन्दिनँ ।’

शरणार्थी प्रकरणका मुख्य योजनाकार रायमाझीलाई अर्का योजनाकार सानु भण्डारीले १ करोड ६० लाख नगद दिएको बयान दिएका छन् । तर, आफू राजनीतिक मान्छे भएको बताउँदै रायमाझीले बयानमा भनेका छन्–‘मैले पैसा लिएको छैन तर, सानु र मेरो छोरा सन्दीप व्यापारिक साझेदार हुन् ।’

सानु भण्डारीको घरमा भेटिएको डायरीमा भेटिएको ‘लेनदेन रेकर्ड’को आधारमा पक्राउ परेका रायमाझीले डायरीको हिसाबबारे भने–‘डायरीको हिसाब मलाई थाहा भएन ।’ डायरी अध्ययन गरेका एकजना प्रहरी अधिकृतका अनुसार रायमाझीलाई ‘मामा’ सम्बोधन गरेर सानुले पटक–पटक रकम दिएको हिसाब राखेको भेटिएको छ

छोरा सन्दीप र सानु सहित ५ जना मिलेर कम्पनी खोलेको र व्यापारमा साझेदार रहेको कुरा उल्लेख गर्दै रायमाझीले भनेका छन्–‘व्यापारको हिसाब मलाई थाहा भएन, छोरालाई थाहा छ ।’