उपकरण खरिदमा भ्रष्टाचार गरेको भन्दै पूर्वउपकुलपति सहित तीन जना दोषी ठहर

काठमाडौं। स्वास्थ्य उपकरण खरिदमा अनियमितता गरेको भन्दै धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति सहित तीनपूर्व पदाधिकारीलाई  दोषी ठहर्‍याइएको छ।

विशेष अदालतले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति बलभद्रप्रसाद दास, पूर्वरजिष्ट्रार नन्दकुमार थापा र पूर्वनिर्देशक अरविन्दकुमार सिन्हालाई भ्रष्टाचारमा दोषी ठहर गरेको हो।

उनीहरूलाई जनही एक-एक वर्ष कैद र २५ हजार रुपैयाँ नगद जरिवाना तिराउने निर्णय विशेष अदालतले गरेको छ। उनीहरूले स्वास्थ्य उपकरण खरिदमा भ्रष्टाचार गरेको अदालतको ठहर छ। २०७६ मा अख्तियारले तत्कालीन उपकुलपति दाससहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

तीन जनाबाहेक उपकरण सप्लायरहरू चेतन अग्रवाल र उमेश अग्रवाल, रजिष्ट्रार तुलबहादुर श्रेष्ठ, लेखा प्रमुख दिनेशराज दाहाल, डेपुटी म्यानेजर अमिल श्रीवास्तवले भने सफाइ पाएका छन् ।

अख्तियारले दासमाथि चार करोड ८ लाख, अस्पताल निर्देशक सिन्हामाथि ३ करोड ७५ लाख, तत्कालिन रजिष्ट्रार थापामाथि एक करोड ९६ लाख, रजिष्ट्रार श्रेष्ठमाथि ५६ लाख रुपैयाँ बिगो मागदाबी गरेको थियो ।