कांग्रेसले भ्रष्टाचारको आरोप लागेकाहरुलाई निलम्बन नगरेर उल्टै जोगाउने काम गर्यो : अजयबाबु शिवाकोटी

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले पार्टीले भ्रष्टाचारको आरोप लागेका व्यक्तिहरुलाई निलम्बन नगरेर उल्टै जोगाउने काम गरेको भन्दै गुनासो पोखेका छन् ।

शुक्रबार मकवानपुरको दामनमा आयोजित कार्यक्रममा बोल्दै शिवाकोटीले पार्टी भ्रष्टाचारका विषयमा स्पष्ट धारणा बनाउन नसकेको र भ्रष्टाचारी जोगाउने तर्फ अग्रसर भएको बताएका हुन् ।

भ्रष्टाचार आरोप लगाएका व्यक्ति पार्टीले निलम्बन नगरेर जोगाउने काम गरेको उनको भनाइ छ । उनले नेतृत्वको कमजोरीका कारण विगत ८ महिनादेखि केन्द्रीय समितिको बैठक बस्न नसकेको बताए ।

यथाशीघ्र पार्टीको केन्द्रीय समिति बैठक राखेर भ्रष्टाचारविरुद्धमा स्पष्ट धारणा निर्माण गर्नुपर्ने र आरोप लागेका व्यक्तिहरुलाई निलम्बन गरेर अनुसन्धानमा सधाउन उनले माग गरे ।

‘भ्रष्टाचारका विषयमा पार्टीको धारणा समेत बाहिर आउन सकेको छैन । भ्रष्टाचारको आरोप लागेका व्यक्तिहरुलाई निलम्बन गर्न सकेको छैन । यसले पार्टी नै भ्रष्टाचारीहरु जोगाउन अग्रसर रहेको देखिन्छ,’ उनले भने ।

पार्टी सभापतिसंग स्पष्ट बहुमत हुँदा हुँदै पनि जिम्मेवारी र जवाफदेहीताबाट भाग्ने काम भइरहेको उनले बताए ।

नेतृत्वको कारणले पार्टीको २८ हजार भन्दा बढी मतदातामा वितृष्णा छाएको भन्दै यसतर्फ गम्भिर हुनुपर्ने उनको भनाइ छ ।