म मन्त्री भएर आउँदा जहाज त भेन्टिलेटरमा रहेछ : मन्त्री किराती

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल एयरलाइन्सको जहाज आफु मन्त्री भएर आउँदा भेन्टिलेटरमा रहेको दाबी गरेका छन् ।”

मंगलबार काठमाडौंको एक कार्यक्रममा बोल्दै उनले आफू मन्त्री हुँदा जहाज भेन्टिलेटरमा रहको दाबी गरेका हुन् ।

“जहाजको नलिखुट्टाको मासी समेत चुसेर खाइसकेको रहेछ । बाहिर बोक्रा त खायो खायो,” उनले भने, “म मन्त्री भएर आउँदा जहाज त भेन्टिलेटरमा रहेछ ।”

उनले नेताको कमाउने, खाने, पिउने र रमाउने ठाउँ पनि नेपाल एयरलाइन्स रहेको बताए ।

“नेताको कमाउने, खाने, पिउने र रमाउने ठाउँ पनि त्यही रहेछ । कहिले चक्का हरायो । एउटा चक्का मै कोरोडौँ हुँदो रहेछ । किन नहराओस् त,” उनले भने, “मन्त्रीले त खायो खायो । साँढुदाइ, साँढुभाइ, साली, मितबाउ, मित जम्मैले खानुपर्ने । एउटा सीईयो नियुक्ति गर्दा करोडौँ लिएपछि त्यसले बिजनेस प्लान बनाउँछ कि कमाउन लाग्छ रु”

उनले घुस खानको लागि जान्नु नपर्ने, गुरुहरू आफैँ सिकाउन आउने बताए । मन्त्री बन्नु भनेको भूतसँग संगल गर्नु रहेको उनले बताए । भने, “तीनवटा जहाज किन्ने भनेको अहिले म वन झाँक्रीको घेरामा छु । मन्त्री हुनु भनेको त भूतसँग संगत गर्नु रहेछ ।”

उनले भ्रष्टचार नै उल्टो हुने थालेको बताए ।

“भ्रष्टचार नै उल्टो हुन थालेछ । पहिला पहिला व्यापारीबाट उठाएर कर्मचारी हुँदै माथि जान्थ्यो, वन झाँक्री गुफातिर,” उनले भने, “अहिले त मन्त्रीबाट सेटिङ हुँदो रहेछ । ठ्याकै बजेट बनाउने बेलामा मन्त्रीले सेटिङ गर्यो, छानेको मान्छेलाई तल लगेर व्यापारीलाई दिएपछि यति प्रतिशत घ्याप्पै आइहाल्दो रहेछ । कति सजिलो क्या । अनि पो जम्मै नेता हुन खोज्दो रहेछ देशमा ।”