४२ भ्यूटावरलाई अढाइ अर्व, सांसदलाई अढाइ अर्व लुटको धन फुपुको श्राद्ध

काठमाडौं । नागरिकले घर पुग्न पाएनन्, भोकभोकै मर्नुप¥यो । ओखती पाएनन् क्वारेन्टाइनमै मर्नुप¥यो । ओली सरकार देशका ४२ क्षेत्रमा ४२ भ्यूटावर बनाउन बजेट दिएको छ, आगामी वर्ष पनि बजेट दिदैछ । नागरिकको जीवनको भन्दा भ्यूटावरको चिन्ता बढी ?
नागरिक कोरोना र महामारीबाट मरिरहेछन्, सरकार भ्यूटावर बनाउँदैछ । यस्तो सरकार लोक सरकार होइन, अमानवीय सरकार हो ।
भारतले लकडाउन खोलेपछि रोजगारीका लागि गएका २५ लाख फर्कने लर्को जारी छ । तिनलाई राख्ने क्वारेन्टाइन छैन, कोरोना जाँच्ने किट छैन । लकडाउनले रोजगारी गुमाउनेहरु भोकभोकै मरिरहेका छन् ।
ज्यान ठूलो कि भ्यूटावर, नागरिक बचाउने कि सांसदलाई ठेकेदार बनाउन चार चार करोड पकेट खर्च बितरण गर्ने ?
यति नै बेला मन्त्री–सांसदहरुलाई जिमखाना, राष्ट्रपतिलाई कार्पेट, फर्निचर, आधुनिक बाथरुमका लागि करोड छुट्याइएको छ । जनता भोकभोकै मारेर राष्ट्राध्यक्ष र सांसदलाई मस्ती, यही हो लोकतन्त्र ?
गोठभन्दा गए गुज्रेका छन् क्वारेन्टाइन, क्वारेन्टाइन हो कि कोरोना सेन्टर ?
मर्ने बाच्ने ठेगान छैन, यस्तो बेलामा पनि कमिशन र सोख पूरा गर्नुपर्ने ? नैतिकहीनताको पनि परकाष्ठा नाघ्यो ।
विदेशमा भएका राजदूत र वाणिज्यदूतहरु, नेपालमा रहेका अवैतनिक वाणिज्यदूतहरु कमिशन र जुवामा व्यस्त हुनथालेका छन् । धनाध्येहरु भ्रष्टाचार गर्न किन आर्थिक सहयोग दिने भनेर चुप लागेर लुकेर बसेका छन् । लकडाउन श्रमिक, गरीव र विपन्नलाई हो । पहुँचवालाहरु मजाले घुमिरहेका छन् ।
लोकका नाममा रहेका एम्बुलेन्स कालोबजारीमा खपत भइरहेका छन्, श्रमिक बर्ग बिरामी परिवारजनलाई गाडामा अस्पताल लगिरहेका छन्, अस्पतालले पनि उपचार नदिएर मर्न बाध्य पारिरहेका अनेक घटना घटेका छन् ।
जिउँदैमा परीक्षण गर्नेपर्ने कोरोनाको जाँच मरेपछि गर्ने र कोरोना पुष्टि हुने अचम्मको अभ्यास गरिरहेको छ सरकारले । सम्भावित कोरोना संक्रमितलाई राखिने क्वारेन्टाइन किन इपी सेन्टर बनिरहेको छ ? अस्पताल किन अमानवीयपन देखाइरहेछ ?
एकातिर अर्थमन्त्री कोरोनासँग लड्न अर्थाभाव भइरहेको भनिरहेका छन् । तिनै अर्थमन्त्री पद बचाउन सांसदलाई ४–४ करोडको कोष र भ्यूटावरमा पैसा छुट्याइरहेका छन् ।
यो समय कोरोनालाई परास्त गरेर बाँच्ने र बचाउने समय हो । यस्तो बेलामा हिल स्टेशन, एक भ्यू टावर, सांसदलाई ठेकेदार बनाउने बजेट किन चाहियो ? संघीयमात्र होइन, प्रदेश सरकार पनि यही काम गरिरहेको छ ।
प्रधानमन्त्रीको निर्वाचन जिल्ला झापा । झापामा डेढ अर्वको भ्यूटावर बन्दैछ । राजधानी वरपर ११ भ्यूटावर बनाइदैछ । भोक र रोगले जनता मरिरहदा सरकार तिनलाई बचाउने बजेट भ्यूटावर र भ्रष्टाचारमा खर्चिदैछ ।
यो सरकार हो कि सराप ?