शाखा अधिकृतको १४ करोडौंको सम्पत्ति, १० करोड अवैध कहाँबाट आयो ?

काठमाडौं । निजामति सेवामा कसरी मौलाउँदै गएको छ भ्रष्टाचार भन्ने कुराको पुष्टि ललितपुरका मालपोत अधिकृत वद्रीराज ढकालले गरिदिएका छन् । गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ढकाल विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेपछि उनको कर्तुत सार्वजनिक भएको हो ।
ढकालले निजामति सेवामा प्रवेश गरेको २० वर्षे अवधिमा करिब ५० लाख रुपैयाँमात्रै तलब र भत्ताबापत बुझेको भेटिएको छ भने श्रीमतीको पारिश्रमिक भनी ७७ हजार रुपैयाँमात्रै आय देखाउन सकेका छन् । तर अहिले उनको सम्पत्ति १४ करोड ५३ लाख रुपैयाँ रहेको छ । त्यस मध्ये १० करोड २७ लाख रुपैयाँको श्रोत भने खुलाउन सकेका छैनन् ।

२०५४ सालमा अस्थायी शिक्षकको रुपमा जागिर सुरु गरेका ढकालले २०५५ सालदेखि नासुमा निजामती सेवा प्रवेश गरेका थिए । सेवा प्रवेश गरेपछि उनी तनहुँ, कास्की, डिल्लीबजार, पर्सा लगायतका ठाउँमा बसेका थिए । आफूले गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति लुकाउन उनले साली नाता पर्ने व्यक्तिको नाममा सवारी साधन खरिद गरेको अख्तियारको आरोप छ ।

आफ्नो परिवारको सदस्यको नाममा कुनै कारोबार नदेखाएका उनले अस्ट्रेलियामा बस्ने जेठान नाता पर्ने नवराज अर्यालका नाममा बैंक खाता खोली आर्जन लुकाएको अख्तियारको अनुसन्धानबाट खुलेको छ । जेठानको खाता प्रयोग गरेरमात्रै उनले ४ करोड २६ लाखको कारोबार गरेका छन् ।

उनले तनहुँ मालपोत कार्यालयमा हुँदा स्थानीय डेकबहादुर गुरुङलाई प्रभावित पारी उनी र उनको श्रीमतीको नाममा जग्गा किनेको देखाई कारोबार गरेका थिए । एक लाख ९७ हजार रुपैयाँमा किनेको जग्गा केही दिनमै उनले एक करोड ६८ लाख रुपैयाँमा बेचेको देखाई गैरकानुनी आर्जनलाई वैधता दिने प्रयास गरेको अख्तियारको आरोप छ ।