सहकारीमार्फत हजारौं बचतकर्ताको १० अर्बभन्दा धेरै रकम डुब्दा सरकार किन चुप लागेर बसेको : अर्जुननरसिंह केसी

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सहकारीमार्फत हजारौं बचतकर्ताको १० अर्बभन्दा धेरै रकम डुबेको भन्दै सरकारले बचतकर्ताको हितमा काम गर्न कुनै पहल नगरेको आरोप लगाएका छन् । सत्तारुढ कांग्रेसकै सांसदले सरकारले पीडितलाई न्याय दिन तदारुकता नदेखाएको भन्दै प्रश्न उठाएका हुन् ।

“हजारौं बचतकर्ताको १० अर्बभन्दा धेरै रकम सहकारीमा डुबेको छ । त्यसले जनस्तरमै गम्भीर आक्रोस र विद्रोह निम्त्याएको अवस्था छ,” सांसद केसीले भने, “यसको समाधानका लागि सरकारले एक महिना अगाडि नै एउटा समिति गठन गरेको थियो । अहिलेसम्म त्यसलाई पूर्णता दिन सकेको छैन ।” उनले सरकारको काम गराइले प्रश्न उठाएको बताए ।

“यसको उद्देश्य के हो ? किन समितिलाई पूर्णता दिनै सकिएन ? ,” प्रश्न गर्दै केसीले भने, “एकातिर तरकारी किसान, दूध किशान, उखु किसानका समस्या यथावत रहेको अवस्था छ भने यसको समाधान गर्नका निम्ति सरकार मुकदर्शक भएर अहिलेसम्म बसेको छ ।”