क्षतिपूर्तिको लोभमा ज्युँदै श्रीमानलाई दुर्घटनामा गुमाएको दाबी श्रीमतीले गरेपछि…

काठमाडौं । भारतको ओडिशामा गत शुक्रवार भएको रेल दुर्घटनामा आफ्ना श्रीमानको ज्यान गएको भन्दै क्षतिपूर्ति दाबी गर्ने एक महिला समस्यामा परेकी छन् ।

भारतको कटक जिल्लाको मनियाबन्दीकी गीजान्जली दत्ताले दुर्घटनामा आफ्ना श्रीमानको मृत्यु भएको दाबी गरेकी थिइन् ।

उनले एउटा शवलाई आफ्नो श्रीमानको शव भनेर पहिचानसमेत गराएकी थिइन् । तर कागजात नमिलेपछि उनको दाबी पुगेन । उनलाई प्रहरीले चेतावनी दिएर छोडिदियो ।

तर, अहिले घटनामा नयाँ ट्वीस्ट आएको छ । रेल दुर्घटनामा ज्यान गुमाएका भनिएका उनका श्रीमानले प्रहरीमा उनीविरुद्ध जाहेरी दिउका छन् । मृत भनिउका श्रीमानले उनीविरुद्ध जाहेरी दिएपछि उनी समस्यामा परेकी हुन् ।

खासमा उनका श्रीमान विजय उक्त रेलमा यात्रासमेत नगरेका रहेछन् ।

१३ वर्षदेखि अलग बसेका श्रीमानले दुर्घटनामा मरेको दाबी गर्ने श्रीमतीविरुद्ध कडा कारवाहीको माग गर्दै जाहेरी दिएका छन् ।

श्रीमानले जाहेरी दिएपछि ती महिलाले सरकार र भारतीय रेल सेवाका तर्फबाट क्षतिपूर्ति र राहत लिन उक्त नाटक गरेको खुलेको छ ।

रेल दुर्घटनामा ज्यान गुमाउनेलाई ओडिका मुख्यमन्त्री नवीन पटनायकले पाँच लाख, प्रधानमन्त्री नरेन्द्र मोदीले दुई लाख दिने घोषणा गरेका छन् । यस्तै रेल्वेले १० लाख दिने घोषणा गरेको छ ।

शुक्रवार भएको दुर्घटनामा २७५ जनाको ज्यान गएको छ भने एक हजार बढी घाइते भएका छन् । जसमध्ये अहिले पनि २५० जना अस्पतालमा उपचार गराइरहेका छन् । अमर उजाला