दाइजोको निहुँमा श्रीमतीको हत्या, जल्दै गरेको चिताबाट प्रहरीले लियो शव नियन्त्रणमा

काठमाडौं । माइतबाट दाइजो नल्याएको आरोपमा सर्लाहीमा एक महिलाको हत्या भएको छ। हरिपुरमा जल्दै गरेको चिताबाट प्रहरीले शव नियन्त्रणमा लिएपछि हत्याबारे खुलेको हो।

शवको केही भाग जलिसकेको अवस्थामा प्रहरीले हरिपुर नगरपालिका-६ लक्ष्मीपुरका राजाराम साहकी श्रीमती इन्द्रकला देवीको शव नियन्त्रणमा लिएको हो।

कानुनी प्रक्रिया पूरा नगरी शव जलाउन थालेको भन्दै प्रहरीले शव नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए। ५० वर्षीय श्रीमान राजारामकै कुटपिटबाट इन्द्रकलाको मृत्यु भएको प्रहरीले आशंका गरेको छ।

श्रीमतीको हत्यापछि राजाराम फरार भएका छन्। प्रहरीले उनको खोजी गरिरहेको बताएको छ।

सोमबार घरायसी झगडाकै कारण राजारामले श्रीमती इन्द्रकलालाई मरणासन्न हुने गरी कुटपिट गरेका थिए। कुटपिटबाट सख्त घाइते भएकी इन्द्रकलालाई छोरीले उपचारका लागि नवलपुरस्थित एक निजी अस्पतालमा लगेकी थिइन्।

तर त्यहाँ उपचार हुन नसकेपछि चिकित्सकले वीरगञ्ज रेफर गरेका थिए। मंगलबार वीरगञ्जबाट इन्द्रकलालाई घर ल्याइएको थियो। तर अवस्था झन खराब भएपछि छोरीले नै जनकपुर अस्पतलामा पुर्याएकी थिइन्। शनिबार बिहान इन्द्रकलाको मृत्यु भएको हो।

तर स्थानीयले कसैलाई खबर नगरी इन्द्रकलाको शव दाहसंस्कारका लागि लखन्देही खोलामा लगेपछि प्रहरीले यसबारे थाहा पाएको हो।

इलाका प्रहरी कार्यालय हरिपुरले जल्दै गरेको शव नियन्त्रणमा लिई अनुसन्धान गर्न थालेको छ।

कुटपिटबाट मृत्यु भएको घटना लुकाउन खोजिएको भन्दै प्रहरीले स्थानीय ६ जनालाई पक्राउ गरेको छ।

इन्द्रकलाको शव भने पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको छ।