बजेट भाषणपछि आकाशियो प्याजको भाउ , भन्सार बढ्ने डरले ल्याउन छाडे व्यापारीले

काठमाडौं  । आर्थिक वर्ष २०८०/ ८१को बजेटमा भाषण गर्दा सरकारले तरकारी लगायत विभिन्न आयतित वस्तुमा करको दर बढाएको थियो जसको असर बहिले नेपाली बजारमा देखिन थालेको छ ।

उहिले–उहिले प्याज काट्दा आँशु आउँथ्यो। अब केही दिनपछि प्याज किन्दै आँशु आउँछ,’ भन्दै बजेटले ल्याएको प्रति एक जना सांसदले संसदमा व्यंग्य गरेझैं भएको छ अहिले प्याजको भाउ।

अहिले नभन्दै थोक तथा खुद्रा बजारमा प्याजको मूल्य आकाशिएको छ। बजेट भाषणअघि खुद्रा बजारमा प्रतिकेजी ४० रुपैयाँ पर्ने प्याज ८० देखि एक सय रुपैयाँसम्म पर्न थालेको छ। प्याजको भन्सार शुल्क बढ्ने भएपछि बजारमा प्याजको मूल्य वृद्धि भएको र प्याज पाउनै मुस्किल परेको खुद्रा व्यापारीहरू बताउँछन्।

कलंकीका खुद्रा व्यापारी उदयराज श्रेष्ठ कालीमाटी होलसेल बजारमै प्याज मह‌ंगीएर आएको बताउँछन्। ‘कालिमाटीमै हामीलाई ६०–७० रुपैयाँ पर्छ। यहाँ हामीले बढाएको होइन। हामी फाइदाका लागि व्यापार गरेको थोरै नाफा त कमाउन परिहाल्यो नि१ मैले १० रुपैयाँ फाइदा लिएको छु। धेरै होइन। अब केही दिनमा सटेज हुन्छ। एक सय तिर्छु भन्दा पनि नपाउन सक्छ,’ श्रेष्ठले भने।

कालीमाटी होलसेल बजारका व्यापारीहरुले भन्सार बढ्ने डरले प्याज ल्याउन छाडेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठ बताउँछन्। साथै उनले बजारमा प्याजको कारोबार नभएपछि बजारको मूल्यसूचीबाटै प्याज हटाएको जानकारी दिए।

‘अहिले कालीमाटी होलसेल बजारमा प्याजको कारोबार नै छैन। सरकारले बजेट भाषणमा भन्सार शुल्क बढाउने भनेपछि व्यापारीले ल्याउनै छाडेका छन्। २१ गतेदेखि नै हामी अनुगमनमा जाँदा कालीमाटी होलसेल बजारभित्र प्याजको कारोबार भएको देखेका छैनौं,’ उनले भने।

बजेट भाषण हुनुअघि दैनिक ८० देखि एक सय मेट्रिक टनसम्म प्याज भारतबाट आउने गरेको तर अहिले दैनिक एक मेट्रिक टन प्याज मात्रै बजारमा आउन थालेको उनले जानकारी दिए।

‘यहाँ बिक्री हुने तरकारी, फलफूल, प्याज जति पनि छ। त्यो हामीले ल्याउने होइन। यहाँका व्यापारीले आफैं ल्याउने हो। यो एक मेट्रिक टन प्याज आएको पनि व्यापारीले आफ्ना ग्राहकलाई मात्रै दिएको हुनसक्छ। व्यापारीको आफ्नै ग्राहक हुन्छन्। महंगो मूल्य भए पनि तिर्छु मलाई ल्याइदे भने पछि त व्यापारीले ल्याउनै पर्‍यो। तर बजारमा अहिले प्याजको कारोबार छैन,’ उनले भने, ‘बजार बाहिर के छ त्यो मलाई थाहा भएन। बजारभित्रका व्यापारीले प्याज ल्याएका छैनन्। एक सय मेट्रिक टन आउनेमा एक मेट्रिक टन आउनु भनेको एक प्रतिशत मात्रै आउँछ भन्दा पनि हुन्छ।’