सिंहदरबारका कर्मचारी माथि सतर्कता केन्द्रको निगरानी

काठमाडौं । राष्ट्रिय सर्तकता केन्द्रले मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा कर्मचारी माथि निगरानी गरेको छ।

केन्द्रले हाजिर लगाउँदै बाहिर निस्कने प्रवृत्ति बढेको भन्दै आज कर्मचारीलाई निगरानी गरेको हो।

राष्ट्रिय सतर्कता केन्द्रका उपसचिव एवं सूचना अधिकारी हरिप्रसाद शर्माले बाहिर निस्कने कर्मचारीलाई सिंहदरबारको गेटमा चेकिङ गरिरहेको बताए।

‘को कति ढिलो आउँछ र हाजिर गरेर को निस्कन्छ भनेर हामीले निगरानी गरेका हौं’, उनले भने।

कुन कार्यालयको कर्मचारी हो, कहाँ जाने, कुन प्रयोजनका लागि बाहिर निस्कने लगायत विषयबारे कर्मचारीलाई सोधिएको उनले बताए।

बिहान १० बजेदेखि १२ बजेसम्म कर्मचारीलाई चेकिङ गरिएको थियो।