आजदेखि घोराही सिमेन्टको आईपीओमा आवेदन दिन सकिने

काठमाडौँ । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले आज देखि प्रिमियममा आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको शेयर बाँडफाँट गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीहरुका लागि बाँडफाँट गरी बाँकी भएको सबै शेयर सर्वसाधारणमा जारी गर्न लागेको हो।

कम्पनीले प्रतिशेयर १ सय अंकित मूल्यमा ३ सय ३५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ४ सय ३५ रुपैयाँका दरले ६९ लाख ११ हजार ६ सय ७० कित्ता शेयर निष्काशन गर्नेछ।

सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० लाख कित्ताका लागि आवेदन दिन सकिनेछ। निष्काशन बन्द छिटोमा असार ४ गते हुनेछ भने ढिलोमा असार १४ गते हुनेछ।

कम्पनीको मुल उद्योगको वार्षिक क्लिङ्कर उत्पादन क्षमता ३ लाख ५३ हजार ५ सय मेट्रिक टन रहेको छ । वार्षिक ओपीसी सिमेन्ट क्षमता २ लाख ४० हजार, पीपीसी सिमेन्ट क्षमता ३ लाख ३० हजार र पीएससी सिमेन्ट क्षमता ५० हजार मेट्रिक टन रहेको छ।