आन्तरिक राजस्व विभागले कम कर तिर्ने करदातामाथि निगरानी बढाउने

काठमाडौं । वार्षिक ४० लाख रुपैयाँ भन्दा बढी आय गरेपनि कम कर तिर्ने करदातामाथि कर कार्यालयहरुले निगरानी बढाउने भएका छन् ।

आन्तरिक राजस्व विभागले ठूला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय, आन्तरिक राजस्व कार्यालयहरु र करदाता सेवा कार्यालयलाई पत्र लेखी वार्षिक ४० लाख वा सो भन्दा बढी आय भएपनि न्यून अग्रिम कर कट्टी गर्नेहरुमाथि निगरानी बढाउन निर्देशन दिएको हो ।

विभागले आईटीएस प्रणालीमा सुधार गरी ४० लाख वा सो भन्दा बढी आय भएको तर आय विवरण पेश नगर्ने करदाताको पहिचान गर्न सकिने प्रणाली सञ्चालनमा ल्याएको छ । यस्तो विवरण हेर्दा कतिपय करदाताले ४० लाख रुपैयाँ भन्दा बढीको आय भएपनि अग्रिम कर कट्टी न्यून गरेको भेटिएपछि कार्यालयले यस्तो निर्देशन दिएको छ ।

कार्यालयहरुले अब यी करदाताले आयकर दाखिला गरेरनगरेको, विवरण दिए नदिएको लगायत सबै विवरण चेक, जाँच परीक्षण गरी सो को प्रगति विवरण विभागमा बुझाउनु पर्ने भएको छ ।