११४ वटा सहकारी परे कालोसूचीमा

काठमाडौ । समयमै ऋण तिर्न नसक्ने सहकारीहरु धमाधम कालोसूचीमा पर्न थालेका छन् ।

कर्जा सूचना केन्द्रका अनुसार हालसम्म ११४ सहकारी कालोसूचीमा परेको तथ्याङ्क छ । केन्द्रका प्रवक्ता विजय कुँवरले बैंक तथा वित्तीय संस्थाले सिफारिस गरेका सहकारीमात्र कालोसूचीमा राखिने बताए ।

उनले भने, ‘धेरैजसो सहकारी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएका पनि छन् । उनीहरूले समयमै ऋण तिर्न नसक्दा कालोसूचीमा राखिदिन बैंकहरूबाट आग्रह गरेपछि सूचना केन्द्रले कालोसूचीमा राख्छ ।’

पहिलोपटक २०६० पुस २८ मा शैक्षिक समाज सहकारी कालोसूचीमा परेको थियो । त्यसयता फाट्टफुट्ट सहकारी कालोसूचीमा परेपनि २०७९ मा भने ह्वात्तै बढेको देखिन्छ । २०७९/८० को (दुईमहिनामा) मात्रै ८६ सहकारी संस्था कालोसूचीमा परेका छन् ।

जीवन सुन्दर कृषि सहकारी लिमिटेड, तिरिमिरि बचत तथा ऋण सहकारी संस्था, स्मृति बचत तथा ऋण सहकारी संस्था, साथीभाइ बचत तथा ऋण सहकारी संस्था, अनुरोध बचत तथा ऋण सहकारी संस्था, इमानुअल बचत तथा ऋण सहकारी संस्था, हाम्रो कृषि तथा पशुपालन सहकारी, सन्ध्या बचत तथा ऋण सहकारी संस्था,नयाँ तारा बचत तथा ऋण सहकारी, सुमार्ग बचत तथा ऋण सहकारी, तुलसी बहुमुखी सहकारी संस्था, सनराइज बचत तथा ऋण सहकारी, पश्चिमोदय बचत तथा ऋण सहकारी लगायत कालोसूचीमा परेका छन् । त्यस्तै गेल्डेनरोज सेभिङ एण्ड क्रेडिट, हिउचुली सेभिङ एण्ड क्रेडिटलगायत सहकारी पनि सूचीमा छन् ।

कालोसूचीमा परेका सहकारीको बैंक खाता रोक्का गरिनुका साथै नयाँ खाता समेत खोल्न पाउने छैनन् ।