श्रीमतीको गनगन सुन्न नसकेर घर नगई कारमै बसेपछि…

काठमाडौं । दिनभर काम गरेर साँझ घर जान नचाहेर कारमै सुतिरहेका एक व्यक्तिको भिडियो अहिले चर्चामा छ । घटना मध्य चीनको हुबेई प्रान्तको हो ।

भिडियोमा एक अज्ञात व्यक्ति ड्राइभरको सिटमा पछाडि झुकेर बसिरहेका हुन्छन् । तब उनकी पत्नी साइडको सिटबाट उनीसँग कुरा गर्छिन् ।

‘तिमी किन घर जान चाहँदैनौ ?’ उनकी श्रीमतीले सोधिन्, ‘यदि म तिमीलाई खोज्न नआएको भए, के तिमी कारमै सुत्थ्यौ ?’

“म किन घर जाउँ रु घर जानुभन्दा कारमा सुत्नु धेरै राम्रो छ,’ उनका श्रीमान् अगाडि हेर्छन् र सास फेर्दै भन्छन्, ‘जब म घरमा हुन्छु, तिमी मसँग हरेक तरिकाले असन्तुष्ट हुन्छौं ।’

‘घर जानुको कुनै अर्थ छैन । जब म भिडियो गेम खेल्न खोज्छु वा फोनमा थोरै समय बिताउन खोज्छु, तिमी मलाई सताउन छोड्दैनौ,’ भिडियोमा उनका श्रीमान्ले भनेको सुनिन्छ ।

उनको गुनासो सुनेपछि श्रीमतीले उनलाई बिस्तारै छुन खोज्छिन् । तर, उनी आफ्नो हात हटाएर फेरि कराउँछन्,’म दिनभर कडा काम गर्छु । के म मेरो कारमा केही समयको लागि आराम गर्न सक्दिनँ ?’

यति भनेपछि उनकी श्रीमती केही बोल्दिनन् र भिडियो सकिन्छ । यो भिडियो चिनियाँ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

कतिले यी पुरुष जिम्मेवारी बहन गर्न नसक्ने भन्दै आलोचना गरेका भने, कतिले आफूले मात्रै काम गरेको श्रीमतीले काम नगरेको जस्तो कुरा गरेको भन्दै टिप्पणी गरेका छन् । एक‍जनाले भने उनीभन्दा बढी थकित उनकी श्रीमती देखिएको समेत भनेका छन् ।