अमेरिका माथि सानदार जित हासिल गरेसँगै समूह ‘ए’को तेस्रो स्थानमा उक्लियो नेपाल

काठमाडौं । अमेरिकामाथि सानदार जित हासिल गरेसँगै नेपाल आइसिसी एकदिवसीय विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह ‘ए’को तेस्रो स्थानमा उक्लिएको छ ।

आज दोस्रो खेल जितेपछि नेपालको दुई अंक भएको छ । सात ओभर अघि नै लक्ष्य भेट्टाई अमेरिकालाई ६ विकेटले पराजित गरेकाले नेपालले आफ्नो नेट रनरेटमा पनि सुधार गरेको छ ।

समूहको ‘ए’को शीर्ष स्थानमा जिम्बावे छ । गृहमैदान हरारेमा लगातार दोस्रो म्याच जित्दै जिम्बावे समूहको शीर्ष स्थानमा रहेको हो । एक म्याच खेलेको वेष्ट इन्डिजको पनि दुई अंक छ । तर, राम्रो रनरेटका कारण नेपालभन्दा माथि छ ।

वेष्ट इन्डिजले आफ्नो दोस्रो खेल बिहीबार नेपालविरुद्ध खेल्नेछ । दुवै खेल हारेको अमेरिकाले तालिकामा खाता खोल्न सकेको छैन ।

भारतमा आयोजना हुने एकदिवसीय विश्वकपमा पुग्ने अन्तिम दुई टोली चयन गर्न ग्लोबल छनोट चलिरहेको हो । ग्लोबल छनोटमा पाँच–पाँच राष्ट्र रहेको दुई समूह छन् ।

नेपाल समूह ‘ए’मा छ । यो समूहमा टेस्टराष्ट्र जिम्बावे र वेष्ट इन्डिजसँगै अमेरिका र नेदरल्यान्डस् पनि छन् । समूह ‘बी’मा श्रीलंका, स्कटल्यान्ड, आयरल्यान्ड, ओमान र युएई छन् ।

दुवै समूहका शीर्ष तीन टोली दोस्रो चरणमा पुग्नेछन् । त्यसरी पुग्ने ६ राष्ट्रलाई एउटै समूहमा राखेर प्रतिस्पर्धा गर्दा शीर्ष दुई स्थानमा रहने राष्ट्र भारतमा आयोजना हुने विश्वकपमा सहभागी हुनेछन् ।

विश्वकपमा पुग्नका लागि नेपालले सबैभन्दा पहिले समूह ‘ए’को शीर्ष तीनभित्र रहेर समूह चरण टुंग्याउनुपर्छ । र, त्यसका लागि समूहचरणका बाँकी दुई खेलमा उत्कृष्ट नजिता ल्याउनुपर्छ ।