गैरकानूनी ढंगले विदेशी मुद्रा अपचलन गर्दै ट्रेड युनियन काँग्रेस

काठमाडौं । श्रमिकहरुको हित र अधिकारका लागि लड्ने उदेश्यले तात्कालिन नेपाली कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले स्थापना गरेको ट्रेड युनियन काँग्रेस कोइराला खानदान (शेखर कोइराला) कै कारण अहिले मृत अवस्थामा पुगेको छ ।

ट्रेड युनियन ऐन २०४९ को दफा ९(३) बमोमिज नविकरण हुन नसकेमा त्यस्तो संस्थाको दर्ता प्रमाणपत्र स्वत खारेज हुन सक्ने भनिएको छ । सोही ऐनका आधारमा पनि २०७६ साल फागुन ३ गतेबाट नेपाल ट्रेड युनियन काँग्रेस खारेज भएको पुष्टि हुन्छ ।

तर स्वत खारेज भईसकेको ट्रेड युनियन कांग्रेसले अहिले पनि विदेशबाट नेपालका श्रमिकका नाममा सहयोग स्वरुप ल्याइएको रकम केही पदाधिकारीहरुले संकलन गरी आफूखुशी खर्च गर्ने गरेका छन् ।

कोभिड – १९ को अवधिमा लाखौं श्रमिकहरु अलपत्र एवं हातमुख जोर्न समेत धौ धौ भएका बेला यसका पदाधिकारीहरु भने तिनै श्रमिकको नाममा आएको रकममा मोजमस्तीमा रमाईरहे ।
अझ रोचक कुरा के छ भने वैदेशिक सहयोगबाट आएको रकम कुनै पनि संस्थाले निश्चित उदेश्यका लागि मात्र खर्च गर्न पाउने व्यवस्था भएपनि ट्रेड युनियन कांग्रेसका अध्यक्ष महासचिव एवं कोषाध्यक्षको मिलेमतोमा आफ्नो स्वार्थ अनुकूल खर्च गरिएको देखिएको छ । त्यसका साथै श्रमिकका लागि आएको रकम नेपाली कांग्रसको आसन्न १४ औं महाधिवेशनमा सभापतिका दावेदार रहेका डा. शेखर कोइरालाको पक्षमा परिचालन गर्न अहिलेदेखि नै संस्थाको रकम योजनावद्ध ढंगले खर्च गर्न थालिएको छ ।

ट्रेड युनियन काँग्रेसको गत वर्ष भएको निर्वाचनमा पुस्कर आचार्यलाई अध्यक्ष बनाउनका लागि डा. शेखर कोइरालाको निर्देशनमा करोडौं खर्च गरिएको थियो ।

ट्रेड युनियन काँग्रेसलाई अन्तर्राष्ट्रि ट्रेड युनियन परिषद् आईटियुसीएपी, डब्लु एस एम, एफ एण्ड भी, आईएलओ, जिलाफ सास्क लगायतका अन्तर्राष्ट्रिय संस्थाबाट करोडौं रुपैयाँ आउने गरेको छ । तर श्रमिकहरुले त्यस्ता रकममा कहिल्यै पनि उपभोग वा अधिकारका लागि प्रयोग गर्न भने पाएको देखिँदैन । अहिले ट्रेड युनियन काँग्रेस वैधानिक रुपमा खारेज भईसकेको अवस्थामा समेत विदेशी रकम सो संस्थाले नेपाल इन्भेष्टमेण्ट वैक मार्फत आफ्नो खातामा जम्मा गर्ने गरेको छ । जुन रकम सञ्चालनलाई विदेशी मुद्रा अपचलन गरेको आरोप पनि लागेको छ । नेपाल इन्भेष्टमेण्ट वैकमा जम्मा भएको विदेशी मुद्रा ट्रेड युनियन काँग्रेसले कृषि विकास वैक, राष्ट्रिय बाणिज्य वैक, नेपाल वैक लगायत निजी वैक मार्फत खर्च गर्ने गरेको तथ्य इकालोपाटीलाई फेला परेको छ ।

विदेशबाट आएको रकम अध्यक्ष, महासचिव, कोषाध्यक्षले आफूखुशी र गैरकानूनी रुपमा खर्च गर्ने गरेको विषयमा सो संस्थाका कुनै पनि पदाधिकारीहरु बोल्न तयारी देखिँदैनन् । गैरकानूनी ढंगले श्रमिकका नाममा आएको रकम व्यक्तिगत स्वार्थपूर्तिका लागि खर्च गरिँदा पूर्व अध्यक्षहरु समेत बोल्न आँट गरेको देखिँदैन । ट्रेड युनियनका नाममा राजनीति गर्नेहरुले श्रमिकको रगत पसिनाको मूल्य निहित स्वार्थका लागि प्रयोग गरिरहेका छन् ।

४ लाख २५ हजारभन्दा माथि काँग्रेस निकट श्रमिक सदस्यहरु रहेको सो संस्थाले गरेकाे आर्थिक अपचलनका विषयमा महासचिव योगन्द्र कुँवरसँग जानकारी लिन खोज्दा उनी संस्थाको रकम मज्जाले खर्च गर्ने र कसैले केही पनि गर्न नसक्ने भन्दै दम्भ देखाउँदै प्रस्तुत भए ।

ट्रेड युनियन काँग्रेसले विदेशी रकम अपचलन गरिरहेको आरोपका विषयमा नेपाल राष्ट्र वैकका प्रवक्ता डा गुणकर भट्टले आफूहरुकोमा उजुरी नआएकोले के हो भन्न नसकिने र खाता रहेको सम्वन्धित वैकले जानकारी नगराएको समेत बताए । यदि त्यसो गरेको पुष्टि भएमा वैक र संस्था दुवैलाई कार्वाही हुने उनको भनाई थियो ।

श्रमिकका नाममा आएको करोडौं रुपैयाँको मुख्य जिम्मेवारी लिएर जथाभावी चेकमा हस्ताक्षर गर्ने ट्रेड युनियन काँग्रेसका कोषाध्यक्ष मोहन बस्नेतसँग गत वर्षको आयव्यय विवरण माग्दा सम्पर्कमा आउन चाहेनन् ।