सभामुख घिमिरे र उत्तर कोरियाली राजदूत बिच भेटवार्ता

काठमाडौं । सभामुख देवराज घिमिरेसँग नेपालका लागि उत्तर कोरियाका राजदूत जो योङ मेनले बिहीबार भेटवार्ता गरेका छन् ।

सभामुखको कार्यकक्ष सिंहदरबारमा भएको भेटमा नेपाल–उत्तर कोरिया द्विपक्षीय सम्बन्ध विस्तार, संसदीय आदान प्रदान लगायतका विषयमा छलफल भएको सभामुखको प्रेस सल्लाहकार शेखर अधिकारीले बताए ।

भेटमा सभामुख घिमिरेले दुई देशबीच विभिन्न समयमा भएका संसदीय आदान प्रदान एवं भ्रमणहरुको स्मरण गरेका थिए । उनले भने, ‘विगतमा हाम्रा माननीयहरुले उत्तर कोरियाको भ्रमण गर्नुभएको थियो। कोरियाली संसदमा उत्तर कोरिया–नेपाल संसदीय मैत्री समूह गठन भएको सुन्न पाउँदा खुशी लागेको छ ।’

नेपालले कोरियाली प्रायद्वीपमा भएका घटनाक्रमलाई चासोका साथ नजिकबाट नियालिरहेको बताउँदै आफ्नो मुलुक कोरियाली शान्ति, एकता र स्थायित्वको पक्षमा रहेको उल्लेख गरे । सांसदहरुमार्फत दुई देशका जनताबीचको सम्बन्ध स्थापना गर्नुपर्नेमा जोड दिए ।

भेटमा नेपालका लागि उत्तर कोरियाका राजदूत जो योङ मेनले आफ्नो देशको सर्वोच्च जनसभा ९संसद०ले नागरिकका जनाधिकार र नागरिक स्वतन्त्रताको रक्षाका लागि कानूनहरु निर्माण गर्दै गएको जानकारी गराए । बालबालिका सम्बन्धी कानून पारित भएसँगै निःशुल्क शिक्षाको अधिकार ग्यारेन्टी भएको बताए ।

सन् १९७४ मा नेपाल र प्रजातान्त्रिक जनगणतन्त्र कोरियाबीच कूटनैतिक सम्बन्ध स्थापना भएयता दुई देशहरु बीचको सम्बन्ध मैत्रीपूर्ण रुपमा अगाडि बढिरहेको छ ।