हामीले बाबुरामजीलाई न समातेको हो, न छोडेको हो : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले बाबुराम भट्टराईको एक्लै हिँड्न बानी रहेका कारण समाजवादी मोर्चामा नआएको पनि ठिकै भएको बताएका छन्।

बिहीबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले समाजवादी मोर्चा निर्माण गर्ने विषयमा लामो समयदेखि छलफल चलेको तर छलफलमा एकदिन पनि बाबुराम भट्टराईलाई नदेखिएको बताएका हुन्।

मोर्चाले बाबुराम भट्टराईलाई छोडेको हो भन्ने प्रश्नमा उनले भने, ‘६र७ महिनादेखि सघन रूपमा छलफल हुँदै आएको हो। उहाँको संलग्नता कहिल्यैपनि देखिएन। न हामीले उहाँलाई समातेको हो, न छोडेको हो। छुट्नुभएको हो भने उहाँलाई थाहा होला।’

यादवले बाबुरामका लागि बाटो राखिदिएको पनि बताएका छन्। मोर्चाले लिएको अवधारणालाई समर्थन गर्ने र साथमा चल्ने हो भने हामीले त्यसका लाग बाटो राखिदिएका छौं,’ उनले भने, ‘बाबुरामजीको एक्लै हिँड्ने बानी छ। त्यसले गर्दा ठीकै भएको छ कि जस्तो पनि लाग्छ।’