प्रहरीले बरामद गरेको २ किलो धातु सुन भएको पुष्टि भएपछि

काठमाडौं । सशस्त्र प्रहरीले बरामद गरेको करिब २ किलो धातु सुन रहेको पुष्टि भएको छ।

सशस्त्र प्रहरी बल बोर्डर आउटपोस्ट (बीओपी) बयरघाट रुपन्देहीबाट इन्सपेक्टर शरणबहादुर खड्का कमान्डको टोलीले शनिबार राति करिब २ किलो सुनजस्तो धातु बरामद गरेको थियो।

लुम्बिनी सांस्कृतिक नगरपालिका–१३ कालिदहबाट सुनजस्तो देखिने धातु २ किलोसहित कारमा सवार १ जनालाई नियन्त्रणमा लिएको थियो।

उक्त धातु जाँच गर्दा सुन रहेको पाइएको सशस्त्रका सहायक प्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। उक्त धातु सुन रहेको भन्दै रुपन्देहीस्थित सिद्धार्थनगर सुन चाँदी व्यवसायी संघले प्रमाणित गरेको हो।

बरामद सुनको तौल १ किलो ९ सय ६५ ग्राम ३ मिलि ग्राम रहेको पाइएको छ। जसको बजारमूल्य १ करोड ८५ लाख ६५ हजार ३ सय ५५ रुपैयाँ हुन्छ।

नेपालबाट भारत तर्फ जाँदै गरेको बा १२ च ३८२० नम्बरको मारुती सुजुकी कार र चालकलाई नियन्त्रणमा लिइ चेकजाँच गर्दा इटा आकारको २ थान सुन जस्तो बस्तु बरामद गरी भैरहवा भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।