मेयर बालेनविरुद्ध अदालतको अवहेलना मुद्दा ढुंगानाको इजलासमा

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह विरुद्धको अदालतको अवहेलना मुद्दाको सुनुवाइ आज न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा हुँदै छ । आइतबार पनि ढुंगानाकै इजलासमा परेको उक्त निवेदनमाथि समयाभावका कारण सुनुवाइ हुन सकेको थिएन ।

आज सुनुवाइ पेसी सूचीको ७ नम्बरमा तोकिएको छ । अधिवक्ता वर्षाकुमारी झाले गएको शुक्रबार बालेनविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दायर गरेकी थिइन् ।

उच्च अदालत पाटनले सिनेमा हल सञ्चालकलाई हिन्दी फिल्मको प्रदर्शन नरोक्न महानगरविरुद्ध अन्तरिम आदेश जारी गरेको थियो । उक्त आदेश जारी भएसँगै बालेनले सामाजिक सञ्जालमार्फत आफूले आदेश नमान्ने बताएका थिए ।

“जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ, म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन । फिल्म लेखकले नेपाल भारतको अधीनमा थियो भनिसकेपछि उनीहरूको नियत थाहा हुन्छ । यो कुरालाई नेपाल सरकारले स्टन्ट भन्नु र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधीनमा थियो, अदालत र सरकार भारतको गुलाम भएको बुजिन्छ । यसको लागि जुनसुकै सजाय भोग्न तयार छु, तर फिल्म चल्दैन र चल्न दिइने छैन,” उनले समाजिक सञ्जालमा लेखेका थिए ।

उक्त अभिव्यक्तिले अदालतको अवहेलना हुने भन्दै अधिवक्ता झाले सर्वोच्चमा निवेदन दर्ता गराएकी हुन् । त्यसमाथि आजै प्रारम्भिक सुनुवाइ हुनेछ । सुनुवाइपछि निवेदन खारेज वा मेयर बालेनविरुद्ध कारण देखाऊ आदेश जारी हुनसक्छ ।

अदालतको अवहेलना गरेको ठहर भए एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय वा अरू उपयुक्त आदेश हुनसक्छ ।