संखुवासभा : बाढी र पहिरोबाट बेपत्ता भएका २१ जनाको अवस्था अझै अज्ञात

साङ्केतिक तस्बिर

काठमाडौं । संखुवासभामा गएको बाढी र पहिरोमा परी बेपत्ता भएका २१ जनाको अवस्था अझै पनि अज्ञात रहेको छ ।

सभा खोला र हेवा खोलाको बाढीमा परी बेपत्ताको खोजी तथा उद्धार कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय, संखुवासभाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए।

खोजी कार्यमा शनिबारबाट तालिमप्राप्त कुकुरको प्रयोग गरे पनि हालसम्म बेपत्ताको स्थिति पत्ता लाग्न नसकेको उनको भनाइ छ।

असार २ गते राति परेको भीषण वर्षासँगै सभा खोला, हेवा खोला, पिलुवा खोला र अपरहेवा खोलामा बाढी र पहिरो २१ जना बेपत्ता भएका हुन्।

४ प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, स्थानीय र तालिम प्राप्त कुकुरले खोजी गरिरहेका छन्।

खोलामा पानीको बहाव कम नभएको जनाउँदै प्रहरी नायब उपरीक्षक गोदारले पानी कम भएका बगर र बालुवा थुप्रिएका विभिन्न क्षेत्रमा खोजीकार्य हुँदै आएको जानकारी दिए।

प्रहरीका अनुसार तालिम प्राप्त कुकुरले समेत विगत दुई दिनदेखि प्रभावित क्षेत्रमा खोजी गरेपनि नतिजा आउन सकेको छैन।

सोमबार पनि करिब सयजना सुरक्षाकर्मीसँगै मोती र पिक्कुले अन्तिम चरणको खोजी तथा उद्धार कार्य गर्नेछन्।

बेपत्ता परेकाहरूमध्ये अधिकांश त्यहाँ रहेको विभिन्न हाइड्रोपावरमा कार्यरत कर्मचारी र श्रमिक रहेका छन्।

चैनपुर नगरपालिकास्थित हेवा खोला र पिलुवा खोलामा गएको बाढीमा १८ जना, पाँचखपन नगरपालिकाको अपरहेवा खोलामा १ जना र सभापोखरी गाँउपालिकामा पहिरोमा परि २ जना बेपत्ता अवस्थामा रहेका छन्।