वान एक्स बेट प्रचार गरेको आरोपमा पक्राउ परेका ‘बल्छी धुर्बे’ को बयान– ‘मलाई ढेडु बुढो’ले डुबायो’

काठमाडौं । नेपालमा प्रतिबन्धित वान एक्स बेटको प्रचार गरेको आरोपमा पक्राउ परेका कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ले आफू अर्का कलाकार सरोज घिमिरे ‘ढेडु बुढो’ का कारण फसेको बयान दिएका छन् ।

सरकारी वकिलको रोहबरमा भएको बयानमा बल्छी धुर्बेले ‘मलाई ढेडु बुढाले डुबायो सर’ भनेको प्रहरी स्रोतले बतायो ।

‘सरोजले आफूले पनि विज्ञापन गरिरहेको र त्यसले कानूनी रूपमा खासै फरक नपर्ने भन्दै विज्ञापन गर्न लगाएको भनेर उहाँ ‘बल्छी धुर्बे’ले बयान दिनुभएको छ,’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने ।

पक्राउ परेका अधिकांशले आफूहरूलाई वान एक्स बेट गैरकानूनी भएको कुरा जानकारी नरहेको बयान दिएका छन् ।

जानकारी नभएकै कारण विज्ञापन गरेको भनेर अधिकांशले बयान दिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एक प्रहरी अधिकृतले जानकारी दिए ।

गएको जेठ ३२ गते प्रहरीले ५ जना कलाकारसहित ८ जनलाई पक्राउ गरेर सार्वजनिक गरेको थियो ।

पक्राउ पर्नेमा मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’, राजु पौडेल ‘राजु मास्टर’, पवन खतिवडा ‘म्याकुरी’, एलिस राई, जलन घर्ती मगर, गणेश देवकोटा, सरोज घिमिरे ‘ढेडु बुढो’ र बेगम नेपाली ‘भटभटे माइला’ रहेका छन् ।