लगातार टिकटको मूल्य घटाउँदा पनि बढेन आदिपुरुषको कमाई

 

काठमाडौं । टिकटको मूल्य लगातार दुईपटक घटाउँदा पनि चलचित्र आदिपुरुषको बक्स अफिस कलेक्सनमा खासै वृद्धि देखिएको छैन ।

रिलिजको दोस्रो हप्ता चलचित्रले भारतमा मात्र १४ करोड रुपैयाँ कमाई गरेको छ । फिल्मको कमाइको तथ्याङ्क जुटाउने वेबसाइट सैकनिल्कका अनुसार दोस्रो आइतबार चलचित्रले मात्र ६ करोड भारु कमाई गरेको छ ।

ओम राउतको निर्देशनमा बनेको चलचित्रले पहिलो दिन नै हिन्दी सिनेमामा सबैभन्दा ठुलो ओपनिङ गर्ने रेकर्ड बनाएको थियो । रिलिजको पहिलो हप्ता चलचित्रलाई ठुलो सफलता मिलेको थियो । चलचित्रको हिन्दी संस्करणले नै ११३ करोड भारु कमाएको थियो ।

धमाकेदार सुरुवातपछि आदिपुरुषको कमाइमा लगातार गिरावट देखिएको छ । विवादित संवादका कारण चलचित्रको आलोचना भइरहेको छ । चलचित्र हेरेर फर्किएका दर्शकले चलचित्रको संवादप्रति निराशा व्यक्त गरेका छन् । दर्शकको भावनालाई कदर गर्दै चलचित्रका केही संवाद परिवर्तन गरिएको थियो । चलचित्रको संवाद लेखक मनोज मुन्तशिर हुन् ।