भुटानी शरणार्थी प्रकरण : थप एक जना पक्राउ

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा आशिष बुढाथोकी रहेको काठमाडौं परिसरका एसएसपी दानबहादुर कार्कीले जानकारी दिए।

उनका अनुसार बुढाथोकीलाई काठमाडौंको गल्फुटारबाट पक्राउ गरिएको हो। उनको खाता प्रयोग भएको देखिएकोले उनलाई अनुसन्धानको दायरामा ल्याइएको एसएसपी कार्कीले बताए। ‘उनको खातामा ट्रान्ज्याक्सन भएको देखिएको छ। त्यसैले उनलाई पक्राउ गरिएको हो’, उनले भने।

यस प्रकरणमा अहिलेसम्म १८ जना पक्राउ परेका थिए। तीमध्ये २ जनाबाहेक १६ जनालाई काठमाडौं जिल्ला अदालतले थुनामा पठाउन आदेश दिएको थियो।

न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले टंक गुरूङलाई १० लाख, लक्ष्मी महर्जनलाई ५ लाख धरौटीमा छोड्न आदेश दिएको थियो। पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वगृहसचिव टेकनारायण पाण्डेसहित १६ जनाको हकमा थुनामै राखेर अनुसन्धान गर्न आदेश दिएको हो। यद्यपि गुरूङ र महर्जनलाई भने सम्पत्ति शुद्धीकरणको जिम्मा लगाइएको छ।

सरकारी वकिलहरूले अभियुक्तहरू राज्य विरूद्धको कसूरमा दोषी रहेकाले उनीहरूले बाहिर बसेर प्रमाण नष्ट गर्न सक्ने भन्दै थुनामै राख्न माग गरेका थिए।

काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भनी विभिन्न व्यक्तिलाई ठगी गरेको प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वगृहसचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थीका नेता टेकनाथ रिजालसहित ३० जनालाई मुद्दा लगाएको थियो।

उनीहरूविरूद्ध २०८० जेठ १० गते सरकारी वकिलको कार्यालयले ठगी, लिखत कीर्ते, राज्यविरूद्ध र संगठित अपराधको कसूरको मुद्दा दर्ता गराएको थियो।

यो प्रकरणमा एक सय १३ जनाले साढे २७ करोड ठगी भएको भनी प्रहरीमा २२ वटा जाहेरी दिएका थिए।