आगो लागेर सात घर जले, ५१ लाख भन्दा बढीको क्षति

काठमाडौं । इलामको माङ्सेबुङ गाउँपालिका-५ मा आगलागी हुँदा सात घर जलेर नष्ट भएको छ। आगलागीका कारण ५१ लाख भन्दा बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।

मंगलबार बिहान करिब साढे २ बजेबाट सुरु भएको आगलागीका कारण सात घर पूर्णरूपमा जलेको जिल्ला प्रहरी कार्यालय इलामका प्रमख प्रहरी उपरीक्षक दीलिप घिमिरेले जानकारी दिए।

आगलागीका कारण स्थानीय हर्बबहादुर चेम्जोङ, लोकहाङ लावती, नरहाङ लावती, माङ्गेमा सम्बाहाम्फे, अनु चेम्जोङ, पदमसिंह इवा र चन्द्र राईको घर जलेको एसपी घिमिरेले बताए।

मंगलबार बिहान हर्क बहादुर चेम्जोङको घरमा विद्युत सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट घरसहित नगद, सुनचाँदी, लत्ताकपडा, अन्नपात जल्दा ५१ लाख बराबरको क्षति भएको एसपी घिमिरेले जानकारी दिए । झण्डै तीन घण्टापछि स्थानीयले आगो पूर्णरूपमा नियन्त्रणमा लिएका थिए।