गाउँपालिका अध्यक्षले शिक्षकलाई लाठी र मुक्का प्रहार गरेपछि…

काठमाडौं । विद्यालय सुधार तथा शिक्षक कर्मचारीको तलव खाता रोकिएको विषयलाई लिएर गाउँपालिका अध्यक्षलाई ज्ञापन पत्र बुझाउन गएका शिक्षकलाई गाउँपालिका अध्यक्षले कुटेका छन् ।

रुवीभ्याली गाउँपालिका ४ बोराङका शिक्षक ऋषिराम खनाललाई मरणासन्न हुने गरी गाउँपालिकाका अध्यक्ष रामसिंह तामाङले कुटेका हुन् ।

मुक्रापदेवी माध्यमिक विद्यालयको सुधार तथा शिक्षक कर्मचारीको तलब रोकिएको विषयमा ज्ञापनपत्र बुझाउन गएका उनलाई मरणासन्न हुने गरी कुटिएको हो ।

अध्यक्ष तामाङ, उत्तमलाल तामाङ, नविनकुमार गोले लगायतको मिलेमतोमा शिक्षक खनाल कुटिएका हुन् । उनले अवस्था गम्भीर रहेकाले स्वास्थ उपचारको लागि धादिङको बाटो नभई रसुवाको लामो बाटो प्रयोग गरी पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

शरीर बन्धक तथा ज्यान मार्ने उद्योग कसुर गरेको भनी निजहरु अध्यक्ष रामसिंह तामाङ, उत्तमलाल तामाङ, नविनकुमार गोलेलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनिष तामाङले प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका छन् ।

शिक्षकहरुले गाउँपालिकाका अध्यक्षलाई विद्यालयको तलव खाता फुकुवा हुनुपर्ने, राजनीतिक नियुक्ति बदर गर्नुपर्ने, शिक्षक अभावलाई संबोधन गर्नुपर्ने, पालिकाको वार्षिक बजेटमा विद्यालयलाई समेट्नु पर्ने लगायतका ६ सूत्रीय माग राखी शिक्षक खनाललगायत १७ शिक्षकले ज्ञापन पत्र अध्यक्षलाई बुझाएका हुन् ।

ज्ञापनपत्र बुझाउने क्रममा खनालसहितका प्रधानाध्यापक एवं अन्य शिक्षकलाई रामसिंह तामाङले लाठी र मुक्का प्रहार गरेका हुन् । अन्यको स्थिति भने सामान्य छ ।